काठमाडौं- नेपाली कांग्रेसले सात मध्ये ६ सहमहामन्त्रीलाई निर्वाचनमा उठाएको थियो । महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरी, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर र बद्री पाण्डे प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । जसमध्ये तीनजना पराजित भएका छन् । एकजना निर्वाचित भएका छन् । दुईजनाको क्षेत्रमा मतगणना भइरहेको छ ।
निर्वाचनमा सहमहामन्त्री राठौर मात्र निर्वाचित भएका छन् । उनी बाँके ३ बाट निर्वाचित भएका हुन् । अर्का सहमहामन्त्री भीष्मराज आङदेम्बे भने ४७ मतान्तरले पराजित भएका छन् । पाँचथरबाट उठेका उनलाई एमालेका वसन्त नेम्वाङले पराजित गरे । नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत मात्र पाए। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए ।
अर्का महामन्त्री महालक्ष्मी उपाध्याय पनि अन्तिममा पराजित हुन पुगिन् । तीन दिनसम्म अग्रता हासिल गर्दै गएर उनी राप्रपाका दीपक सिंहसँग मकवानपुर १ बाट पराजित हुन पुगिन् । कांग्रेसले भीष्मराज र डिनालाई जित्ने सूचीमा राखेको थियो । बारा १ बाट खानेपानीमन्त्रीसमेत रहेका चौधरी पराजित हुन पुगे । सो क्षेत्रमा गठबन्धनको धेरै मत भए पनि एमालेका अच्युत मैनालीले १० हजार मतान्तरले पराजित गरे ।
सहमहामन्त्रीद्वय महेन्द्र यादवको धनुषा ४ मा मतगणना जारी छ । त्यहाँ एमालेका रघुवीर महासेठसँग उनको तीव्र प्रतिस्पर्धा छ । अर्का सहमहामन्त्री बद्री पाण्डेको बाजुरामा भने मतगणना नै रोकिएको छ । त्यहाँ एउटा मतदान केन्द्रमा धाँधली भएको भन्दै उजुरी परेकाले रोकिएको हो । सहमहामन्त्री जीवन परियार भने समानुपातिक सूचीमा छन् । नेपाली कांग्रेसले सबै सहमहामन्त्रीलाई चुनाव जित्ने सूचीमा राखेको र संसदमा देख्न चाहेको थियो । सबैजना कांग्रेसका प्रभावशाली नेताहरू पनि हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।