काठमाडौं- पाँच वर्षे आवधिक निर्वाचनअन्तर्गत आज दुई सय ७५ प्रतिनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेश सभा सदस्य चुन्न मतदान हुँदै छ । आगामी पाँच वर्षका लागि संघ र सातै प्रदेशमा सरकार बनाउने जनादेश भएकाले निर्वाचनलाई प्रमुख दलहरूले प्रतिष्ठा बनाएका छन् ।
२०७४ को आमनिर्वाचनमा वाम गठबन्धन थियो । जसकारण एमाले र माओवादी केन्द्रले सुविधाजनक बहुमत ल्याएर सरकार बनाएका थिए । तर बीचमै वाम गठबन्धन र एकता धरापमा परेपछि केपी ओली नेतृत्वको सरकार ढल्यो । र, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले देउवा नेतृत्वकै सरकारले दोस्रो निर्वाचन गराएको छ ।
११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने अपेक्षा गरेको छ । मंसिर २२ गते भित्र पूर्ण नतिजा दिने र यसै महिना नयाँ सरकार बन्ने आयोगको विश्वास लिएको छ ।
निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् । मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ । यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन् । चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील रहेका छन् ।
आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदी–बन्दीको मतदानका लागि एक सय ४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । करिब चार लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।
मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा नौदेखि १२ जनासम्म कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन् । सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटिएका छन् ।
देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । आयोगका अनुसार कहीँकतै निर्वाचन बिथोलिएको खबर आएको छैन । प्रमुख निर्वांचन आयुक्त दिनेश थपलिया, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रमशः काठमाडौं, चितवन काठमाडौंबाट मतदान गरेका छन् । पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाबाट मतदान गरेका छन् ।
आयोगले साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । थोरै मतदाता रहेको र नजिकै मतदान केन्द्र र मतदानस्थल रहेका ठाउँमा आइतबार साँझबाटै मतगणना गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।