काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कति मत खस्ला ? भन्ने चासो सर्वत्र देखिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब ६४ प्रतिशत मत खसेको थियो ।
धेरैले अहिले ६० प्रतिशत पनि मत नखस्ने अनुमान गरिरहेका छन् । स्थानीय तहको निर्वाचनको जति पनि चासो र चर्चा यो निर्वाचनमा देखिएन । तर, निर्वाचन आयोगले भने आसन्न निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अपेक्षा गरेको छ ।
मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । स्थानीय तह निर्वाचनमा पनि यही हाराहारीमा मत खसेको, अहिले मतदान गर्नुहुँदैन भन्ने पक्ष र जनमत बलियो नभएको, यो दुइटा निर्वाचन भएको, उम्मेदवार पनि ११ हजार हाराहारी रहेको, ८० भन्दा बढी दलले राजनीतिमा भाग लिएको, दलका संगठनमा आबद्ध तथा शुभचिन्तकहरूको सक्रिय सहभागिता रहेकाले एक करोड ३३ लाखभन्दा बढी मत खस्ने आयोगको विश्वास रहेको उनको भनाइ छ ।
तर, स्थानीय तहको निर्वाचनमा एक करोड २९ लाख मात्र मत खसेको थियो । आसन्न निर्वाचनमा सवा करोड मत खसे धेरै उपलब्धि हुने विश्लेषण गरिएको छ ।
साढे चार लाख अस्थायी मतदाताले पनि मत हाल्न पाउने अवस्था, दुई दिन सरकारी बिदा, निजी क्षेत्रले पनि दुई दिन बिदा दिने सहमति जनाएकाले मत हाल्ने संख्या बढ्ने प्रमुख आयुक्त थपलियाले दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।