विराटनगर– मोरङ–१ मा नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुको जित निश्चित बनेको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा हुन्।
लिम्बू २०३९ सालदेखि शिक्षण पेसामा लागेका थिए । लेटाङ नगरपालिका– ४ गुवाबारीका बासिन्दा उनी शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत थिए । २०४२ सालबाट पार्टीमा जोडिएका डिगबहादुर शिक्षकको स्थायी जागिर छाडेर २०४९ मा राजनीतिमा आए र कांग्रेसबाट टिकट पनि पाए ।
चुनावी प्रतिस्पर्धामा खतिवडाले बाजी मारे । चुनाव हारेपछि लिम्बू थप दुई वर्ष शिक्षण पेसामा रहे । गाविस अध्यक्ष बनेका खतिवडा भने २०५२ सालमा गठन भएको गाविस महासंघको केन्द्रीय सदस्य बने । जिविस सभापति हुने योजनाका साथ उनले २०५४ मा गाविस सदस्यको चुनाव जितेका थिए । तर पार्टीले खड्गबहादुर बस्नेतलाई जिविस समिति सभापति बनायो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले डिगबहादुरलाई मोरङ–९ (हाल १) मा उम्मेदवार बनायो । एमालेबाट भने भुवनसिंह राईले टिकट पाए । दुबैलाई हराएर माओवादीका नगेन्द्र धिमाल संविधानसभा सदस्य चुनिए ।
२०७० सालमा कांग्रेसले डिगबहादुरलाई टिकट दिया भने एमालेले घनश्यामलाई अघि सारेपछि ०५१ का प्रतिस्पर्धी आमनेसामना भए । यो बेला माओवादीले वर्षमान पुनलाई उम्मेदवार बनाएको थियो । डिगबहादुर लिम्बू १५ हजार २०२ मतसहित विजयी हुँदा घनश्याम १२ हजार ९८९ मतका साथ दोस्रो स्थानमा रहे ।
२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्र ६ वटामा सीमित भयो । खतिवडा र लिम्बुको क्षेत्र नम्बर १ बन्यो । २०७४ सालको निर्वाचनमा दुवै जना उम्मेदवार बने । वाम गठबन्धनबाट उम्मेदवार बनेका घनश्याम ३७ हजार ५२४ मतसहित विजयी हुँदा डिगबहादुरले ३१ हजार ४३६ मत मात्र पाए ।
यो पटक कांग्रेसबाट डिगबहादुर र एमालेबाट घनश्याम नै फेरि चुनावी मैदानमा छन् । अघिल्लो पटक घनश्यामलाई सघाएको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले यो पटक डिगबहादुरलाई समर्थन गरेको छ । एमालेले भने जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ ।
शिक्षक हुँदै राजनीतिमा आएका दुई नेताले भएको तीन पटक प्रतिस्पर्धा गरिसकेका छन्, जसमा दुई पटक खतिवडासँग पराजित भएका लिम्बू यो पटक आफूले चुनाव जित्ने दाबी गर्छन् । सडक पूर्वाधार, नदी नियन्त्रणसँगै जनताको जनजिविकालाई सहज बनाउन आफू उम्मेदवार भएको उनको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।