सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

जब निर्वाचन, तब गगन विरुद्ध ‘फेक न्यूज’को बाढी

जब निर्वाचन, तब गगन विरुद्ध ‘फेक न्यूज’को बाढी

  • मिडिया डबली
  • आइतवार, कार्तिक २७ २०७९

  • 2.2K
    SHARES

  • जब निर्वाचन, तब गगन विरुद्ध ‘फेक न्यूज’को बाढी

    काठमाडौं– जब जब चुनाव आउँछ । नेपाली कांग्रेसका नेता गगन कुमार थापा चर्चामा आउँछन् । एकातर्फ गगनको राजनीतिक उचाई बढ्दै जाँदा उनका समर्थकहरुले प्रशंसा गरिरहेका हुन्छन् भने अर्कोतर्फ थापाका प्रतिस्पर्धीहरुले चुनाव हार्ने भए पछि जनतामा भ्रम फैलाउनका लागि गगन विरुद्ध प्रायोजित विषय बाहिर ल्याउने गरेका छन् । अहिले फेरी त्यही दोहोरिन थालेको छ ।

    नेपाली कांग्रेस राजतन्त्रको विपक्षमा रहँदादेखि नै थापा गणतन्त्रको पक्षमा नारायणहिटी अघिबाट राजालाई लल्कारे । पछि नेपाली कांग्रेस पनि गणतन्त्रको पक्षमा उभियो । राजतन्त्र विरुद्धको सडक संघर्षदेखि नेपाली राजनीतिका हरेक क्षणमा गगन चर्चामा रहँदै आएका छन् । सडकदेखि सदनसम्म, त्रिचन्द्रको विद्यार्थी राजनीतिदेखि स्वास्थ्यमन्त्री हुँदासम्म गगनले लोकप्रिय काम गरे । काठमाडौं क्षेत्र नं ४मा विकासको मूल फुटाए । गगनले ल्याएका योजनालाई आफ्नो पहलमा ल्याएको भनेर प्रचारमा जुटेका राजन त्यसबाट पनि जनतामा भ्रम सृजना गर्न नसके पछि अहिले गगन विरुद्ध कथोकल्पित र भ्रामक समाचार मार्फतजनतामा भ्रम सृजना गर्न जुटेका छन् । 

    थापाको लोकप्रियताबाट डराएपछि अहिले काठमाडौं क्षेत्र नं ४का प्रतिस्पर्धी राजन भट्टराईले गगन विरुद्ध ‘फेक न्यूज’ ल्याउन थालेका छन् । २०७४को प्रतिनिधि सभाको निर्वाचनमा पनि राजनले यस्तै हतकण्डा अपनाएका थिए । गगनलाई राम्रोसँग बुझेका काठमाडौं क्षेत्र नं ४का जनताका अघि राजनको भ्रम खेतीले काम गरेन । राजनले आफूले काम गरेको देखाउनु भन्दा पनि गगनको विरोध गरेर समय खर्चिने गरेका छन् ।

    काठमाडौं क्षेत्र नं ४का जनता माझ लोकप्रिय थापाको विषयमा जनतालाई भ्रम पार्न सकिन्छ की भनेर भट्टराईले फेरी झुट्टा समाचारको प्रयास गरेका छन् । त्यसकै उदाहरण राजन भट्टराई जिताउँ अभियान फेसबुक पेजबाट गगनका विरुद्धमा फेक न्यूजको सहारा लिएर प्रचार गरिरहेकोबाट समेत पुष्टी हुन्छ । अघिल्लो निर्वाचनमा बाख्राको विषय उचालेका राजन यो पाली एमसिसीको मुद्धालाई उचालिरहेका छन् । राजनले केही भाडाका मान्छे लगाएर गगन विरुद्ध समाचार लेखाउन समेत लागि परेका छन् । एमाले निकटको अनलाइनमा काम गर्नेहरुलाई उनले प्रयोग गरेका छन् । एमाले निकटको चक्रपथ अनलाइनले गगनलाई एमसिसीको मतियार बनाउन खोजेर एउटा भिडियो समेत पोष्ट गरेको थियो ।

    गगन विरुद्ध अन्य झुटा समाचार लेखाउनका लागि एक कांग्रेस निकटका पत्रकारलाई पनि प्रलोभन देखाएका थिए । एमाले निकट प्रेस चौतारीका एक पत्रकारले राजन भट्टराईलाई महाराजगञ्जमा ती पत्रकारलाई भेट गराएका थिए । ‘एमाले निकटका पत्रकारको अनलाइनबाट समाचार ल्याउँदा विश्वसनीयता नहुने भयो,’ राजनले ती पत्रकारलाई भने, ‘गगन विरुद्ध समाचार लेख्नुपर्यो यहाँलाई राम्रै आर्थिक सहयोग गर्छु ।’ ती पत्रकारले प्रमाण भए समाचार लेख्छु । तर, बनावटी झुट्टा समाचार लेख्दिन भनेपछि राजनले प्रमाण दिन नसकेपछि निन्याउरो मुख लगाएर फर्किएका थिए । राजनको प्रलोभन अस्वीकार गरे पछि राजन नाजवाफ भएका थिए । यो त एउटा उदाहरण मात्र हो । केही सञ्चार माध्यममा भने उनको सचिवालयले  आर्थिक प्रलोभनमा पारेर गगन विरुद्धमा एक फेकन्यूज प्रकाशन गरे वापत एक लाखको अफर समेत गरेर समाचार लेखाउन सुरु गरेका छन् ।

    गगन विरुद्धमा यस्ता फेक न्यूज अझै आउने क्रममा रहेको नेपाली कांग्रेस क्षेत्र नं ४का क्षेत्रीय सचिव बद्रि भट्टराईले बताए । ‘निर्वाचन नजिकिँदै जाँदा गगनको चरित्र हत्या गर्ने समाचार आउँछन्,’ भट्टराईले भने, ‘निर्वाचन आउने वित्तिकै गगन विरुद्ध भ्रमको खेती सुरु हुन्छ ।’ गगन विरुद्धमा भ्रमका खेती अझै आउने भएकाले त्यस्ता समाचारका पछि नलाग्न सचिव भट्टराईले आग्रह गरेका छन् । ‘विपक्षीहरुले जनताको मन जित्न नसकेपछि भ्रम फैलाउन फेक न्यूजको सहारा लिन खोजेका छन्,’ उनले भने, ‘क्षेत्र नं ४का जनता सचेत भैसके । ’

    थापाको लोकप्रियतासँग डराउनेले जनतालाई भ्रममा पार्नका लागि कहिले के कहिले के फण्डा निकाल्ने गरेका छन् । अहिले काठमाडौं क्षेत्र नं ४का प्रतिनिधि सभाका उम्मेदवार राजन भट्टराई आफू हार्ने निश्चित भए पछि जनतामा भ्रम श्रृजना गर्नका लागि विभिन्न भिडिओ बनाउनेदेखि लिएर सञ्चार माध्यममा समाचार लेखाउनेसम्मका काम गरिरहेका छन् । त्यो उनको सचिवालयले सञ्चालन गरेको राजन जिताउँ अभियान भन्ने फेसबुक पेजबाट गगन थापा विरुद्ध गरिएका पोष्टबाट पुष्टी हुन्छ ।

    गगनले बाख्रा पालनका लागि अनुदान लगेको भनेर झुट्टा प्रचार उनकै सचिवालयले संगठित रुपमा  गर्ने गरेको छ । तत्कालिन समयमा थापा संसदको कृषि तथा जलश्रोत समितिको सभापति भएकाले ‘कन्फ्क्टि अफ इन्ट्रेष्ट’  हुने भएपछि आवेदन फिर्ता गरेका थिए । गगनले कुनै रकम नलिएको तत्कालिन कृषि तथा व्यापार परियोजना प्याक्टका आयोजना प्रमुख तथा पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीले सार्वजनिक रुपमा बताइसकेका छन् ।

    नेकपा एमाले सरकार र राजननै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा अघि बढाएको एमसिसी परियोजना नेपाली कांग्रेस नेतृत्वको पालामा पारित भएको थियो । अमेरिकन परियोजना एमसिसीको पक्षमा लागेका गगन अर्को अमेरिकन परियोजना एसपीपीको विपक्षमा उभिएका छन् । एमसिसीको बारेमा गगनलाई दोषारोपण गर्नुको कुनै अर्थ नभएको राजनीतिक विश्लेषक सुरेन्द्र के.सी.ले बताए । ‘अघिल्ला सरकारले अघि बढाएको एमसिसी कांग्रेस नेतृत्वको सरकारले अघि बढायो,’ के.सी.ले भने, ‘गगन युवा भएकाले केही चर्को बोले होलान् । उनलाई मात्र दोष लगाउनुको कुनै अर्थ छैन ।’

    एमाले सरकारले सुरु गरेको एमसिसी परियोजना प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको थियो । एमसिसी अघि बढाउने निर्णय राजन भट्टराई सल्लाहकार रहेका तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र केपी ओली नेतृत्वको सरकारले गरेको थियो । 
    कुनै पनि हालतमा एसपीपी नेपालमा कार्यान्वयनमा ल्याउनुहुँदैन र रद्ध गर्नुपर्छ भनेर गगन संसदमा उभिएका थिए । गगन स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा धेरै राम्रो काम गरेर आम जनतामाझ प्रशंसा कमाएपछि फेरी अनावश्यक र झुट्टा आरोप लगाएर प्रोपोगाण्डा गर्ने गरेका छन् । कतिपय अवस्थामा गगनले भाषण गर्दा बोलेका केही अंशलाई मात्र काटेर भ्रम फैलाउन खोजिएका पनि प्रशस्त उदाहरण छन् ।

    गगन ‘सम्मुन नेपाल, सम्मानित नेपाली’को भिजन लिएर अघि बढेका छन् । यसले पनि उनको लोकप्रियता थप अघि बढेको छ । विगतको निर्वाचनमा तत्कालिन माओवादीको सहारामा निर्वाचन लडेका राजन पराजित भए । अहिले नेकपा माओवादी, नेकपा एसको समर्थन कांग्रेस महामन्त्री थापालाई भएकाले विगतमा भन्दा सजिलै निर्वाचन जित्ने देखे पछि राजनले फेरी एक पटक फेक न्यूजको सहारामा जनतालाई भ्रमित पार्न खोजे पनि सफल नहुने काठमाडौं क्षेत्र नं ४का एमाले कार्यकर्ता नै बताउँछन् । ‘अघिल्लो चुनावमा दुई पाटी एक ठाउँमा हुँदा त राजनलाई जिताउन सकिएन,’ नाम नबताउने सर्तमा ती कार्यकर्ताले भने, ‘अहिले गगनलाई गठबन्धनको साथ छ । महामन्त्री भएकाले गगनको राजनीतिक उचाई झन् बढेको छ ।’

    निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्नेमा झुठा आरोप लगाउने राजनको योजना आफूलाई पनि मन नपरेको ती एमाले कार्यकर्ताले बताए । ‘आफूले गरेका कामको प्रचार गर्ने हो,’ उनले भने, ‘झुट्टा समाचार लेखाएर गलत राजनीतिक संस्कार बसाउनु हुँदैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend