काठमाडौं - काठमाडौं ६ मा यसपटक पनि नेपाली कांग्रेसका भीमसेन प्रधान दोहोरिने स्पष्ट संकेत देखिएको छ ।
यसअघिका दुई निर्वाचनमा एमालेका योगेश भट्टराई र माओवादीका झक्कु सुवेदीलाई हारको स्वाद चखाइसकेका प्रधान यसपटक एमालेका उम्मेदवार सर्वेन्द्र खनालमाथि भारी देखिएका छन् ।
नेपाल प्रहरीको ३० वर्षे अवधि सकेर राजनीतिमा पनि ‘तर’ मार्न आइपुगेका खनालले शक्तिकै आडमा टिकट फुत्काएका थिए । उम्मेदवारी दर्ता हुनु १५ दिनअघि एमाले प्रवेश गरेर टिकट हात पारेपछि त्यहाँ बीसौं वर्ष राजनीति गरेर जीवन बिताएका इमान्दार र पुराना नेतामाथि अन्याय भएको छ । सोही कारण एमालेले नेता कार्यकर्ता काठमाडौं ६ मा चुनावी प्रचार प्रसारमा देखिएका छैनन् ।
त्यसमाथि पनि खनालको दागी चरित्रका कारण कांग्रेस उम्मेदवार प्रधानलाई फाइदा पुगेको छ । विगतमा एमाले र माओवादी मिल्दा पनि प्रधानले सानदार ढंगले चुनाव जितेका थिए ।
त्यसमाथि अहिले त विवादास्पद छविका उम्मेदवार प्रतिस्पर्धी भएकाले प्रधानलाई निकै सजिलो भएको छ । नेपाल प्रहरीमा हुँदा धेरैको क्यारियर चौपट पारेको, निर्दोष व्यक्तिलाई विभिन्न आरोप लगाएर फसाएको,गुण्डागर्दी गरेको आरोपमा कुमार घैंटेलाई घरबाट थुतेर सडकमा ल्याएर गोली हानी हत्या गरेको, निर्मला हत्या काण्डको अनुसन्धानमा वास्तविक हत्यारा पत्ता लगाउन छाडेर निर्दोषलाई नै हत्या कबुल गराउन पटक पटक प्रयास गरेको आरोप समेत खनाल माथी लाग्दै आएको छ ।अर्को निकै चर्चामा रहेको सांसद अपहरण काण्डका कारण खनालले खुलेर आफ्नो क्षेत्रमा भोट माग्न सकिरहेका छैनन् ।
यस्ता विवादास्पद चरित्र भएकै कारण प्रधानले एउटा नारा बनाएका छन्, ‘दागीलाई होइन, सादगीलाई रोजौं ।’ यो नारा निकै लोकप्रियसमेत भइरहेको छ ।
बौद्धिक र प्राध्यापन पृष्ठभूमिका प्रधान स्वच्छ र इमान्दार छवि बोकेका नेता हुन् । उनी अहिलेसम्म कुनै विवादमा परेका छैनन् । त्यही भएर यसपटक पनि प्रधानले चुनाव जित्ने बताइन्छ । काठमाडौं ६ मा एमालेभन्दा गठबन्धनको मत नै धेरै छ ।
त्यसमाथि एमाले उम्मेदवार खनालको परिवार सबै कांग्रेस समर्थक भएकाले उनको हरिबिजोग हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।