काठमाडौं- नेपाली कांग्रेसले माओवादी केन्द्रलाई काठमाडौं ३ मा बागी उम्मेद्वारी निष्क्रिय पार्न दबाब दिएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार कांग्रेसले पाएको क्षेत्रमा माओवादीका बद्रीप्रसाद बजगाईंको उम्मेदवारी कायम रहेपछि कांग्रेसले फिर्ताका लागि दबाब दिएको हो। यो क्षेत्रमा कांग्रेसका सन्तोष चालिसे उम्मेदवार छन्। चालिसे कांग्रेस महामन्त्री गगन थापाका विश्वासपात्र हुन् । उनी गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् । यो क्षेत्रमा चालिसे लोकप्रिय मानिन्छन् ।
आफ्नो पार्टीको उम्मेदवारविरुद्ध माओवादीले बागी कायम राखेकाले माओवादीले पाएका काठमाडौंका तीनवटा क्षेत्रमा कांग्रेसले सहयोग नगर्ने सम्भावना धेरै देखिएको छ । माओवादीले काठमाडौं १० मा पनि बागी उम्मेदवारी दिएको छ । कांग्रेसका राजेन्द्र केसीको विरुद्धमा माओवादीकी अञ्जना विशंखेले उम्मेदवारी दिएकी छन् । उनी माओवादीमा नारायणकाजी श्रेष्ठ निकट नेतृ हुन् ।
काठमाडौं ३ मा कांग्रेसबाट प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसका छिरिङ दोर्जे लामा र विमल ठकुरी उम्मेदवार छन्। माओवादी केन्द्रले पनि प्रदेशतर्फ ‘क’ मा कपिलमुनि उप्रेती र ‘ख’ मा महेश्वर फुयाँललाई उम्मेदवार बनाएको छ। कांग्रेसले संघ र प्रदेशतर्फ दुइवटै निर्वाचन क्षेत्रको उम्मेद्वारी निष्क्रिय गर्न दबाब दिँदै आएको छ।
माओवादीले उम्मेदवारी फिर्ता नगरेपछि निर्वाचनमा सत्ता गठबन्धनको उम्मेद्वार जिताउन उम्मेद्वारी निष्क्रिय पार्न प्रयास भइरहेको काठमाडौं ३ का चुनावी अभियान संयोजक हरिबोल भण्डारीले जानकारी दिए। कांग्रेस नेताहरु गठबन्धनमा समझदारीविपरीत माओवादीको बागी उम्मेदवारी परेको टिप्पणी गर्छन्। यस्तै हो भने कांग्रेसले काठमाडौं २ मा माओवादीकी ओनसरी घर्ती, ७ की मानुषी भट्टराई र ९ की कल्पना धमलालाई मत नहाल्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।