काठमाडौं- आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन खासगरी मधेस केन्द्रित दलका नेताका लागि ठूलो चुनौती देखिएको छ । हुन त स्वतन्त्रको उभार र नागरिकका असन्तुष्टिका कारण कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी दल पनि त्यसबाट अछुतो छैनन् । तर, ०६४ र ०७० को निर्वाचन जस्तो चार्म कुनै पनि मधेस केन्द्रित दलका नेतामा देखिएको छैन ।
मधेस आन्दोलनको क्षयीकरण, विभाजित अवस्था र अस्वाभाविक गठबन्धनमा रहेका कारण आसन्न निर्वाचनमा मधेसकेन्द्रित दलका शीर्ष नेतालाई चुनौती थपिएको छ । स्थानीय निर्वाचनको परिणामले त उनीहरूलाई झनै झस्काएको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा मिलेर लडेकाले मधेसकेन्द्रित दलका ठूला नेताले पराजय भोग्नैपरेन । संघीय समाजवादी फोरम (हाल जसपा) गठबन्धनसहित चुनावमा जाँदा त्यतिखेर मधेसमा प्रतिनिधिसभाका ३२ मध्ये २० सिट र प्रदेश सभामा बहुमत जित निकालेका थिए । तर, परिस्थिति अहिले फरक बनेको छ, दुई दल फरक–फरक गठबन्धनमा छन् र शीर्ष नेता नै चुनाव जित्न चुनौतीपूर्ण संघर्षमा छन् । मधेस केन्द्रित दलका ठूला नेता नै सुरक्षित छैनन् ।
अहिले जसपा र लोसपा विभाजित छन् । सिके राउत नेतृत्वको जनमत पार्टी पहिलोपटक संघीय र प्रदेश सभा निर्वाचन लड्दै छ । उपेन्द्र यादव नेतृत्वको जसपाले अन्तिम समयमा एमालेसँग गठबन्धन गरेको छ । एमालेसँगको गठबन्धनमा उसले संघतर्फ १७ र प्रदेश तर्फ ४२ सिट पाएको छ । त्यस्तै, ठुला दलसँग तालमेलको प्रयासमा रहेको लोसपा अन्तिम समयमा सत्तागठबन्धनमा मिसिएको छ । उसले प्रतिनीधिसभातर्फ सात र प्रदेशमा १४ सिट पाएको छ ।
मधेसमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो बनेका छन् । सो निर्वाचन परिणाम र दलहरूका पछिल्ला समीकरण विश्लेषण गर्दा मधेसका ३२ सिटमा क्षेत्रीयभन्दा राष्ट्रिय दललाई अनुकूलता थपिएको देखिन्छ ।
यसपटक जसपा अध्यक्ष उपेन्द्र यादव आफैं असुरक्षित देखिएका छन् । सप्तरी २ मा उनीसँग सिके राउत र लोसवाका जयप्रकाश ठाकुर भिड्दैछन् । जनमत पार्टीका अध्यक्ष राउतको प्रभाव सप्तरीमा राम्रो छ । ठाकुरलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीको पनि समर्थन रहेकाले उपेन्द्र यादवलाई चुनाव जित्न निकै मुस्किल पर्ने देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।