काठमाडौं- नेपालका नेताहरू तथ्यांकमा कहिल्यै पनि विश्वास गर्दैनन्, तथ्यांकसहित बोल्दैनन् भन्ने कुरा फेरि एकपटक एमाले अध्यक्ष केपी ओलीले पुष्टि गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा १४० निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । पहिले १४३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । तर पछि नवलपरासी १, चितवन ३ र डडेल्धुरामा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।
नवलपरासी १ मा एमालेले हृदयेश त्रिपाठी, चितवन ३ मा कांग्रेसका बागी दिनेश कोइराला र डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेस बिपीका कर्ण मल्ललाई सघाउने गरी एमालेले पार्टीको उम्मेदवारलाई फिर्ता बोलाएको थियो । यसरी एमालेले तीन सिट छाड्दा उसको १४० निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी कायम रहन्छ ।
तर, एमाले अध्यक्ष ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर एमाले निर्वाचनमा होमिएको दाबी गरेका छन् । आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ एक सय ५० सिट ल्याउने उनको दाबी छ । बुधबार झापाको दमकमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले एक्लैले सरकार बनाउने बताए । ‘एमालेप्रति लहर बढ्यो । अब कुनै गठबन्धनको छेस्काछेस्कीले छेक्नेवाला छैन । प्रत्यक्षतर्फ सय सिटभन्दा तल ल्याउने ठाउँ छैन,’ ओलीले भने, ‘समानुपातिकमा कमसेकम ५० सिट ल्याउँछौँ । त्यसकारण अबको मिसन १५० ।’ उनले कांग्रेसको ९० सिट पनि नआउने जिकिर गरे । अघिल्लो निर्वाचनमा माओवादीसहितका कम्युनिस्ट पार्टी बोकेर हिँडेका ओलीले समानुपातिकमा ४१ सिट ल्याएका थिए । अहिले माओवादी सँगै छैन मात्र होइन, एमाले विभाजन भएर एकीकृत समाजवादीसमेत बनेको छ ।
उनले प्रत्यक्षमा राप्रपा र जसपासँग तालमेल भए पनि समानुपातिकमा एक मत पनि नचुहाउन कार्यकर्तालाई निर्देशन दिए । आउँदो निर्वाचनबाट राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी गरेका ओलीले एकीकृत समाजवादीलाई सिमलीको डाँक्लाको छेस्को भन्दै राष्ट्रिय पार्टी नबन्ने दाबी गरे । ‘राप्रपाले हामीसँग सहकार्य गर्यो । राप्रपा राष्ट्रिय पार्टी बन्छ । जसपा कायम रहन्छ । लोसपा राष्ट्रिय पार्टी बन्दैन । सिमलीको डाँक्लाको छेस्को (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन । किनकि यसले एमालेसँग टक्कर गर्यो,’ ओलीले भने, ‘दुईवटा पार्टी राष्ट्रिय पार्टी बन्छ । अर्कोपल्टलाई पनि चाहिन्छ । उनीहरूलाई देश बिगारेको दण्ड दिनुपर्छ ।’
सत्तारुढ गठबन्धनविरुद्ध दायाँबायाँ राजावादी बोकेर हिँडेका ओलीले १५० सिट ल्याउने घोषणा गरेपछि सबै आश्चर्यमा परेका छन् । गत स्थानीय तहको निर्वाचनका बेला पनि ओलीले एमालेले दुई तिहाइ स्थानीय तह जित्ने दाबी गरेका थिए । तर, एमाले दुई सय स्थानमै रोकियो । अहिले ओली राप्रपा, राप्रपा नेपाल, हृदयेश त्रिपाठी, एकनाथ ढकाल, कर्ण मल्ल जस्ता प्रतिगमनकारी सोच भएका झुण्ड बोकेर चुनावमा होमिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।