काठमाडौं- पछिल्लो दुई वर्षयता मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेको छ।
असंवैधानिक रुपमा संसद् विघटन गरी संविधानलाई धरापमा पार्ने र व्यवस्थालाई नै असफलताको बाटोमा लैजाने योजना अनुसार राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओली लागेको आरोप उनीहरुमाथि छ।
प्रतिनिधि सभाको अन्तिम बैठकमा पनि उनीहरुको आलोचना निरन्तर रह्यो। प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले संसद्लाई सम्बोधन गर्दै ओली र राष्ट्रपतिको आलोचना गरेका हुन्।
संसद्मा सम्बोधन गरेका अधिकांश नेताहरुले राष्ट्रपतिमाथि प्रश्न गरे। उनीहरुले राष्ट्रपतिले ओलीको असंवैधानिक कदममा साथ दिएको र नागरिकता विधेयकलाई संघीय संसद्ले दुई-दुई पटक बहुमतले पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्न गरेका हुन्।
त्यसैगरी प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ। ओलीले संसद्, न्यायलय र संविधानको उल्लंघन गरेर प्रतिगमनलाई प्रश्रय दिएको आरोप लगाएका छन्।
प्रतिनिधसभाको अन्तिम कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको आलोचना गरेका हुन्। असंवैधानिकरुपमा दुई-दुई पटक संसद् विघटन गर्ने ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी थिइन्।
प्रधानमन्त्री देउवाले भनेका थिए, 'प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भन्नुहुन्छ। यो संसद् नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं। परमादेश नभएको भए उहाँ (ओली) र हामी सँगसँगै काम गर्न पाउँदैनथ्यौं। धेरै विधेयक पास गर्न पाउँदैनथ्यौं।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेका छन्। प्रचण्डले संविधानको भावना विपरीत ओलीले प्रतिनिधिसभा विघटन गरेकाले प्रतिगमन भएको बताएका हुन्।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भने आफूले गरेको संसद् विघटनको भने बचाउ नै गरे। एमाले अध्यक्ष ओलीले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको ठोकुवा गरे। उनले भने, 'प्रतिनिधिसभा निर्वाचन गत वर्षको १७ र २७ वैशाखमै हुन्थ्यो। त्यतिबेला कुनै प्रणाली जान लागेका थिएनन्, संविधान जान लागेको थिएन। नयाँ संसद् आउँथ्यो। प्रतिगमन कहाँबाट आउँथ्यो?'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।