काठमाडौं । कुनै बेला ग्रह शान्तिका लागि भन्दै भैंसी पुजा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना लागि क्षेत्र निर्धारण ज्योतिषको सल्लाहअनुसार गर्ने भएका छन्। यसअघि चितवन–३ बाट निर्वाचित प्रचण्ड स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा माओवादी पार्टीमा राम्रो मत नआएपछि त्यहीँबाट उम्मेदवार बन्नेमा ढुक्क हुन सकेका छैनन्।
आगामी निर्वाचनमा ज्योतिषले दिएको सल्लाहअनुसार नै क्षेत्र रोज्ने तयारीमा रहेको उनी निकट स्रोतको दाबी छ। ‘अबको केही दिनमै कमरेड प्रचण्डले एक प्रतिष्ठित ज्योतिषसँग भेट्दै हुनुहुन्छ। ज्योतिषलाई उहाँले केही क्षेत्र किटान गरेर दिनुहुनेछ। तीमध्ये जुन क्षेत्रबाट लड्दा राम्रो हुने सल्लाह ज्योतिषीले दिनुहुन्छ,’ प्रचण्डनिकट स्रोतको दाबी छ, ‘त्यही क्षेत्रबाट निर्वाचन लड्ने योजना उहाँको छ। ज्योतिषीको नाम अहिले भन्न मिल्दैन। भेटेपछि थाहा पाइहाल्नुहुनेछ।’
तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेलादेखि प्रचण्डले ज्योतिषशास्त्रको खोजी गर्न थालेका हुन्। ‘नेकपाको विवाद उत्कर्षमा पुग्दा उहाँले ज्योतिषलाई कुण्डली देखाउन खोज्नुभएको थियो। तर विविध कारणले त्योबेला सम्भव भएन,’ स्रोतले भन्यो।
अस्थिर राजनीतिज्ञको परिचय बनाएका प्रचण्ड निर्वाचन क्षेत्र फेरिरहने नेतामा पर्छन्। २०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार वटा क्षेत्रबाट निर्वाचन लडेका छन्। ०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित प्रचण्डले २०७० मा भएको निर्वाचनमा रोल्पा–२ छाडेका थिए। त्यो निर्वाचनमा उनले काठमाडौं–१० र सिरहा–५ बाट निर्वाचन लडेका थिए। तर उनी काठमाडौं–१० मा कांग्रेसका राजन केसीसँग पराजित भए। सिरहा–५ बाट उनले मुस्किलले चुनाव जितेका थिए।
तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेलादेखि प्रचण्डले ज्योतिषशास्त्रको खोजी गर्न थालेका हुन्।
२०७४ सालमा आइपुग्दा प्रचण्डले काठमाडौं–१० र सिरहा–५ दुवै निर्वाचन क्षेत्र छाडेर चितवन–३ बाट निर्वाचन लडे। वाम गठबन्धन भएका कारण उनलाई चुनाव जित्न २०७० सालमा भन्दा सहज भयो। राप्रपाका विक्रम पाण्डेलाई ९ हजार ३४१ मतले प्रचण्डले हराएका थिए।
तर यसपटक प्रचण्डले कुन क्षेत्रबाट निर्वाचन लड्छन् भन्ने प्रष्ट छैन। सोही कारण उनी ज्योतिषीको सल्लाहअनुसार निर्वाचन क्षेत्र रोज्ने तयारी गरेका छन्। प्रचण्डले चितवन–३, सिन्धुली–२, सिन्धुपाल्चोक–१ र गोरखा–१ मध्ये ज्योतिषीले दिएको सल्लाहअनुसार एक क्षेत्र रोज्ने स्रोतको दाबी छ। सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्दा २०७४ सालको परिणामलाई समेत आधार मान्ने अवस्था छ। ०७४ सालमा सिन्धुली–२ मा माओवादीकै हरिबोल गजुरेल र सिन्धुपाल्चोक–१ मा अग्नि सापकोटाले जितेका थिए।
गोरखा–१ मा अहिले पनि माओवादी नै निर्वाचित भएको छ। २०६४ देखि लगातार माओवादीले विजय हासिल गरेको थियो त्यहाँ। २०६४ मा पार्वती थापा, २०७० को निर्वाचनमा बाबुराम भट्टराई र २०७४ को निर्वाचनमा हरिराज अधिकारी निर्वाचित भएका थिए। अधिकारीले नै गोरखा–१ बाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।