काठमाडौं - प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाएपछि अहिले यसबारे व्यापक आलोचना र टीकाटिप्पणी भइरहेको छ ।
खासगरी ओलीले रवि लामिछानेलाई इंगित गर्दै देश बिगार्ने भँडुवा भएको टिप्पणी गरेपछि उनको आलोचना भएको हो । हालै सम्पन्न स्थानीय निर्वाचनमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेपछि त्यसलाई क्यास गर्न रवि लामिछानेले स्वतन्त्र पार्टी गठन गरेर मैदानमा उत्रिएका छन् ।
देशभर उनले गरेको भेलामा हजारौंको सहभागिता देखिएको छ । झापादेखि कञ्चनपुरसम्म रविले ठूला दलका भन्दा पनि बढी भीड जम्मा गरेपछि ओलीलगायतका नेताहरूले असुरक्षित महसुस गरेका छन् ।
कतिसम्म भने केही दिनअघि ओली झापा पुगेर आफूलाई ०६४ सालकै जसरी हराइए ठीक नहुने धम्की दिने अवस्थामा पुगेका छन् । शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन अनुरोध गरे।
उनले विश्वका धेरै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाहिँदैन भन्दै स्वतन्त्र भनिएकाहरुले देश विगार्न लागेको आरोप लगाए। उनले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने दाबी गरे। उनले रवि लामिछानेलाई लक्षित गर्दै एउटा पत्रकारका रुपमा नचाहिने नचाहिने काम गरेको आरोप लगाए। एउटा जमातले साथ दियो भन्दैमा लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गर्न नपाइने ओलीले बताए।
‘अब एउटा पत्रकार नचाहिने–नचाहिने काम गर्यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुदेको छ। अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ। शरम लाग्नुपर्ने हो। यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरुको तरिका हो। यसबाट सतर्क हुनुपर्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।