काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ मा दलहरूले वडाध्यक्षमा पाएको मतको विश्लेषण गर्दा प्रभावशाली नेतालाई यसपटक प्रतिनिधिसभामा चुनाव जित्न गाह्रो पर्ने देखिएको छ। यस्तोमा कांग्रेस महामन्त्री गगन थापालाई समेत चुनाव जित्न सहज देखिँदैन। थापाले २०७४ सालको निर्वाचन काठमाडौं ४ बाट जितेका थिए । थापाले एमालेका राजन भट्टराईलाई ३४१८ मतले पराजित गरेका थिए । थापाले २१५५८ मत ल्याउँदा भट्टराईले १८१४० मत ल्याएका थिए । तर यसपटकको स्थानीय तहको निर्वाचनमा काठमाडौं ४ का वडाहरूमा वडाध्यक्षले पाएको मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभामा कांग्रेस मतका आधारमा एमालेभन्दा पछाडि देखिएको हो ।
गगन थापाको यो क्षेत्रमा एमालेले १६५०७ मत ल्याएको छ । कांग्रेसको १५७६३ मत आएको छ । नेकपा एसले २४१४, राप्रपाले २२९३ र माओवादीले ८४४ र जसपाले ३१७ मत प्राप्त गरेका छन् ।
थापाको क्षेत्रमा एमालेभन्दा कांग्रेस ७४४ मतले पछाडि परेको देखिएको छ । यसैले चुनाव जित्नका लागि थापालाई चुनावी गठबन्धन आवश्यक देखिएको हो । एक्लाएक्लै चुनावमा जाँदा थापा पराजित हुने देखिन्छ । सत्ता गठबन्धनका नेकपा एस र माओवादीको समर्थन हुँदा पनि गगनले साँघुरो मतले जित्न सक्ने देखिन्छ । यो क्षेत्रमा एमालेविरुद्ध सत्ता गठबन्धन एक ठाउँमा उभिँदा गगनलाई यसपटक प्रतिस्पर्धा गर्न कठिन हुने देखिएको हो ।
किनकी एमालेको मतभन्दा कांग्रेसको मत ७४४ घटी छ । निर्णायक हुन सक्ने नेकपा एस, माओवादी, राप्रपा र जसपाको मत ६ हजार हाराहारी छ । यस्तोमा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने सम्भावना कम छ । राप्रपा बाहेकका नेकपा एस, माओवादी र जसपाले कांग्रेसलाई समर्थन गरे पनि यो क्षेत्रमा एमाले २८ सय मतले मात्रै पछि पर्न सक्ने देखिएको छ ।
कांग्रेसको पक्षमा गठबन्धन बन्दा नेकपा एसको सबै मत गगन थापालाई नखस्न सक्छ । यसमा पनि स्वतन्त्रका उम्मेदवार उठे भने पनि गगनलाई आउँन सक्ने मत पनि काटिन सक्नेछ ।
यसैले यसपटक परम्परागत क्षेत्रमा गठबन्धन बन्दा पनि गगनलाई चुनाव जित्न कठिन हुने देखिएको हो । एमालेलाई राप्रपाले सहयोग गरे १८९२१ मत पुग्नेछ । तर कांग्रेस उम्मेदवारलाई नेकपा एस, माओवादी र जसपाले सहयोग गरे मुस्किलले १९ हजार कट्नेछ । तालमेलमा नेकपा एसको पूरै मत थापाको पक्षमा झर्ने देखिंदैन । त्यसैले यसपटक चुनावी गठबन्धन बने पनि गगनलाई काठमाडौं ४ मा चुनाव जित्न निक्कै कठिन पर्न सक्ने स्थानीय तहको निर्वाचन परिणामले देखाएको हो । यसैले अत्याधिक मेहनत भएमात्रै गगनले यसपटकको चुनाव जित्नेछन् । अन्यथा प्रधानमन्त्री बन्ने दाबी गरेका थापा प्रतिनिधिसभा क्षेत्रमा नै पराजित हुन सक्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।