काठमाडौं - आफूलाई मन नपर्ने नेतालाई कसरी भित्तामा पुर्याउने भन्ने एमाले अध्यक्ष केपी ओलीको कार्यशैली हेर्नेले सजिलै बुझ्छ ।
एमालेमा कुनै समय ईश्वर पोखरेल निकै हाबी थिए । निर्वाचनबाट महासचिवमा जितेका । तर, माओवादी र एमालेबीच एकता भएर बनेको नेकपामा विष्णु पौडेललाई महासचिव बनाइयो । ईश्वरलाई सचिवालय सदस्यमै सीमित राखियो ।
एमालेको महाधिवेशनबाट ईश्वर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । तर उनको अहिलेको अवस्था ‘दिएको लिएर चित्त बुझाउने’ बाहेक केही पनि छैन । कतिसम्म भने एमालेको केन्द्रीय कार्यालयमा उनलाई एउटा सानो छिँडीमा लगेर उनलाई थन्क्याइएको छ ।
न गर्मी, न ठण्डी– केही छेक्ने व्यवस्था छैन । पहिलो तलामा अध्यक्ष केपी ओलीका लागि सुसज्जित कार्यकक्ष छ । महासचिव शंकर पोखरेलका निम्ति व्यवस्थित र भव्य कार्यकक्ष बनाइएको छ ।
फाइलिङको व्यवस्थासहित एयर कण्डिसन र मिटिङ हल पनि छ । अध्यक्षपछिको भूमिका भनिने वरिष्ठ उपाध्यक्षलाई बिना एयर कन्डिसन, बिना अट्याच बाथरुम राखिएको छ । पिसाब लाग्यो भने दौडिएर कार्यकर्ताहरुको शौचालयमा पुग्नुपर्ने अवस्थामा उनी छन् ।
१२–१३ वर्ष शक्तिशाली महासचिव भएको मान्छेलाई अहिले यसरी भूमिकाविहीन बनाइएको छ । सोही कारण ईश्वर अहिले त्यति सक्रिय छैनन् । ओली प्रधानमन्त्री भएका बेला ईश्वरको मन्त्री खोसियो ।
लामो समयसम्म विना विभागीय मन्त्री बनाएर राखियो । भ्रष्टाचारमा मुछिएको भन्दै ओलीले ईश्वरलाई छोइछिटो गर्दै आएका छन् । तर, पनि उनी मौन छन् । छाडेर जाउँ भने कहाँ जाउँ भन्ने अवस्थामा उनी पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।