काठमाडौं - केही समययता एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच निरन्तर भेटघाट र संवाद हुँदै आएको छ । तर, एमालेका नेताहरूले यसको खण्डन गर्दै आएका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बढारिएपछि एमाले नेताहरू माओवादीको शरणमा पुगेका हुन् । उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदको हरियो घाँस पनि देखाएका छन् ।
जबकि अघिल्लो निर्वाचनमा पनि प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । तर, अन्तिममा आफूले प्रधानमन्त्रीको कुर्सी छाड्नु परे कुर्सी नै भाँचिदिने धम्की दिए ।
र, अन्तिममा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता नै भाँडे । अहिले पनि पहिलेकै जस्तो आश्वासन र ललिपप देखाएर प्रचण्डलाई फकाउने अभियानमा ओली लागेका छन् ।
उनले भित्रभित्रै प्रचण्डलाई कन्भिन्स गर्न आफ्ना दूतहरू परिचालन गरिसकेका छन् । सोही कारण प्रचण्डले आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर सार्वजनिक गरिसकेका छन् ।
प्रचण्डले जस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफूलाई प्रधानमन्त्रीको अफर आएको खुलासा गरेका छन् । एउटै पदका लागि दुई नेतालाई एमालेले प्रधानमन्त्रीको अफर गरिएको विषयले अहिले नेपाली राजनीतिमा फेरि नयाँ समीकरणको विकास हुने हो कि भन्ने चासो बढेको छ ।
एमालेले एकैपटक दुई नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको पछाडि प्रचण्ड र माधव नेपालबीच फाटो ल्याउने भित्री रणनीति रहेको स्रोतले बताएको छ।
एकीकृत समाजवादीलाई अलग राखेर माओवादीलाई मात्र आफूतिर तान्न सकेमा आगामी प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्न सक्ने ओलीको अनुमान छ । सोही कारण अहिले ओली कतै देखिएका छैनन् । प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिन छाडेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।