काठमाडौं - नेपालमा राजनीतिक अस्थिरताको मुख्य कारक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको पटक पटक पुष्टि हुँदै आएको छ ।
एमाले अध्यक्ष केपी ओलीले त १० वर्षअघिदेखि यो भन्दै आएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा पनि नेपालमा राजनीतिक स्थिरता देखिएन ।
प्रचण्डकै कारण ओली नेतृत्वको सरकार ढल्यो । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो । कांग्रेसको बुई चढेर सरकारमा पुगेको र स्थानीय तहको निर्वाचनमा उल्लेख्य सफलता हासिल गरिसकेपछि अहिले फेरि प्रचण्डले कांग्रेसलाई सिध्याउने धम्की दिएका छन् ।
हिजो एमाले सकियो, अब कांग्रेसको दम्भ तोड्छौं भनेर उनले सार्वजनिक रूपमै बोलिसकेका छन् । यसले अबको नेपालको राजनीति फेरि अस्थिरतातिर धकेलिने त होइन भन्ने संकेत गरेको छ ।
हुन त प्रचण्डले अहिले मात्र होइन, पटक पटक कांग्रेसलाई धम्की दिँदै आफ्नो राजनीतिक पावर बढाउँदै आएका छन् । पाँच वर्षअघि पनि उनले कांग्रेसलाई प्रयोग गरेर छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर जिताए ।
साढे तीन वर्षसम्म एमालेसँग मिलेर सरकार बनाएर पछि कांग्रेससँग घाँटी जोडेका प्रचण्डले यसपटक पनि रेनुलाई भरतपुरको मेयरमा दोहोर्याउन सफल भएका छन् ।
निर्वाचनअघि उनले भरतपुरमा रेनुले नजिते देश दुर्घटनामाा पर्ने धम्की दिएका थिए । त्यसबेला उनले मतदातालाई धम्क्याएको भन्दै उनको चौतर्फी आलोचना भयो ।
एमाले अध्यक्ष ओलीले त भरतपुरमै आयोजित चुनावी सभामा प्रचण्डले मतदातालाई डर धम्की दिएको आरोप लगाए । प्रचण्डविरुद्ध निर्वाचन आयोगमा समेत उजुरी परेको थियो । उनले आफूले डर धम्की नदिएको दाबी गरेका थिए ।
अहिले प्रचण्डले कांग्रेसलाई धम्की दिनुको पछाडि आगामी आमनिर्वाचनमा आफ्नो पावर बढाउन भएको सबैले अनुमान गरेका छन् । आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।
प्रचण्ड अहिले नै प्रतिनिधिसभामा सिट बाँडफाँट होस् भन्ने चाहन्छन् । कांग्रेसले आफूलाई धेरै सिट नदिए वाम तालमेल गर्ने उनको रणनीति देखिन्छ । सोही कारण असारभित्रै प्रतिनिधिसभाको सिट बाँडफाँट गर्न गठबन्धनको बैठकमा प्रस्ताव राखिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।