काठमाडौंं - सत्तारुढ गठबन्धनले आगामी तीन तहकोे निर्वाचनमा तालमेल गरेर जाने निर्णयसँगै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी भागबन्डा लगाउलान् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
त्यसमा पनि चितवनतिर सबैको आँखा परेको छ । अघिल्लो निर्वाचनमा भरतपुर महानगरको प्रमुख र चितवन ३ मा माओवादी केन्द्रले जितेको थियो ।
माओवादीले स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरेर भरतपुर र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग वाम एकता गरेर माओवादीले चितवन ३ मा संघीय सांसद हात पारेको थियो ।
तर, यसपटक भने कांग्रेसले कुनै पनि हालतमा दुईमध्ये एक नछाड्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेस चितवनका नेताहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं आउँदै छन् ।
यसअघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् ।
यसपटक पनि माओवादीले नै मेयरको दाबी गर्दै आएको छ । तर कांग्रेसले यसपटक आफूहरुलाई सघाउनुपर्ने धारणा राख्दै आएको छ । कांग्रेस आाफ्नो अडानमा टसमस नभएपछि नयाँ विकल्प तयार पारिएको छ ।
जसअनुसार भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसलाई दिएर चितवन ३ मा प्रचण्डलाई संघीय सांसदमा छाड्ने गरी गृहकार्य अघि बढाइएको स्रोतले जनाएको छ ।
भरतपुर महानगरकी मेयर रेणु दाहाललाई प्रदेश सभामा पठाउने तयारी माओवादी केन्द्रले गरेको बुझिएको छ ।
यसरी अगाडि बढेमा भरतपुर महानगरमा कांग्रेसले मेयर जित्ने, प्रदेश सांसदमा रेणु दाहाल विजयी हुने र चितवन ३ मा प्रचण्ड संघीय सांसद निश्चित हुने बुझाई कांग्रेस र माओवादीको छ ।
यसरी तालमेल भएमा प्रचण्डले भरतपुरको मेयरमा कांग्रेसलाई जिताउन झन्डा बोकेर भोट माग्न हिँड्ने कांग्रेस–माओवादी केन्द्रका जिल्ला नेताहरूको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।