काठमाडौं - एमाले यतिबेला बडो असमञ्जसमा परेको छ । एमाले औपचारिक रूपमा आगामी निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरी एक्लै लड्ने भनेर निर्णय गर्छ ।
तर त्यही पार्टीका अध्यक्ष केपी ओली भने पूर्वपञ्चहरूको पार्टी राप्रपा र राप्रपा नेपालसँग खुरुखुरु भेटेर मिलेर चुनावमा जानुपर्छ भन्छन् ।
तीन दिनअघि मात्रै ओलीले राप्रपा महामन्त्री धवलशमशेर राणालाई नेपालगन्जमा भेट गरे । उनले राणालाई चुनावमा मिलेर जानुपर्छ भने ।
तर, त्यही पार्टीका नेता विष्णु पौडेल र विष्णु रिजालले भने राप्रपासँग चुनावी तालमेल गर्ने सहमति नभएको बताउँदै आएका छन् ।
घाम जतिकै छर्लग भएको कुरालाई पनि एमालेका नेताहरू ढाकछोप गर्न खोज्नुलाई उनीहरू कस्तो मनस्थितिबाट गुज्रिरहेका छन् भन्ने प्रस्ट हुन्छ ।
कतिसम्म ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि चुनावी तालमेलबारे एकसरो छलफल भ्याइसकेका छन् ।
राप्रपा नेपाल र एमालेबीच तालमेलको मोडालिटीबारे समिति बन्ने औपचारिक सहमतिसमेत भइसकेको छ । तर, पनि एमालेका नेताहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलाई देखाउनकै लागि भए पनि हामी एक्लै बलियो छौं, चुनावमा तालमेल गर्दैनौं भनेर हिँडिरहेका छन् ।
अघिल्लो निर्वाचनमा एमालेले तत्कालीन राजपासँग केही ठाउँमा सहकार्य गरेको थियो । तत्कालीन राजपाका नेता राजेन्द्र महतोलाई त एमालेले धनुषा–३ बाट संघीय सांसद जिताएरै ल्याएको थियो ।
तर, यसपटक भने दृश्य फरक देखिएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाली कांग्रेससँग चुनावमा सहकार्यका लागि अघि बढेको छ ।
ठाकुरले केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमै पुगेर सरकारमा सहभागी हुने र गठबन्धनमा आबद्ध हुनेबारे छलफल गरेका थिए ।
स्रोतका अनुसार लोसपा नेता शरतसिंह भण्डारी चाँडै देउवा सरकारका मन्त्री बन्ने चर्चासमेत सुरु भइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।