काठमाडौँ- पूर्वपत्रकार एवं गायक रामप्रसाद खनाल विवादमा परेका छन् ।
खनालले सामाजिक सञ्जालमा ‘ढुंगा हान्दै गरेका उहाँलाई चिन्नु भो ? उहाँ र उहाँहरू जस्तै राजनेताकै सिको गर्दैछन् अहिलेका युवा र विद्यार्थी पनि’ भनेर नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अपमान गरेपछि उनी विवादमा परेका हुन् ।
नेपालमा माओवादी आन्दोलन उत्कर्षमा पुगेकै बेला अमेरिका भागेका खनालले त्यहाँको ग्रिनकार्ड लिएका छन् । विदेश भासिएपछि उनमा बेलाबेला राष्ट्रवादको मूल फुट्ने गर्छ ।
नेपालमा हुँदा कम्युनिस्ट नेता वामदेव गौतमको चाकडी गरेर सयौं डकुमेन्ट्री बनाएर घट्टेकुलोको बंगला ठड्याएका खनाल असली राजावादी हुन् ।
तत्कालीन दरबारको भक्तिगान गाउने र एमाले नेता वामदेवको चाकडी गरेर उनले नेपाल टेलिभिजनमा लोकदोहोरी कार्यक्रम चलाउँथे ।
एउटा साप्ताहिक पत्रिकासमेत निकाल्ने खनालले राजतन्त्रको पक्ष लिँदै माओवादीको विषयमा नानाथरी लेखेपछि आफूलाई सुरक्षा थ्रेट भएको भन्दै शक्तिकेन्द्र प्रयोग गरी अमेरिकाको भिसा लगाएका थिए ।
पहिले आफू अमेरिका गएका खनालले पछि पूरै परिवार लगेका थिए । उनी पहिलेदेखि नै कांग्रेसको विरोध गर्थे । त्यो सिलसिला अहिले पनि जारी छ । अमेरिका बसे पनि उनको भक्तिभाव पूर्वराजा ज्ञानेन्द्र शाहप्रति नै छ ।
त्यही भएर अहिले उनले कांग्रेसका युवा नेता गगन थापासहित अन्य दलका नेताहरूको हुर्मत लिन खोजेका हुन् । बुधबार बिहान उनले सामाजिक सञ्जालमा कांग्रेस महामन्त्री थापालगायत अन्य नेतालाई गालीगलौज गरेपछि उनको आलोचना भएको छ ।
उनले थप लेखेका छन्, ‘आखिर भोलि यिनलाई पनि उहाँहरू जस्तै ठूलो नेता बन्न मन छ रे त्यही भएर बाटा घाटाका ढुंगा, इँटा, ब्लक उक्काएर प्रहरीमाथि जाइलाग्या रे । गलत काम जसले जहिले गरे पनि त्यो गलत नै हुन्छ । कुनै एउटा पार्टीको नेता र आफूले समर्थन गरेको पार्टीको नेताले गरे राम्रो र असल काम हुने अर्को पार्टी, फरक बिचारको नेताले वा कार्यकर्ताले गरे गलत काम हुने यो कस्तो मूल्यांकन हो हामी नेपालीहरूको आश्चर्य लाग्छ ।’
गगन थापालगायतका युवा नेताले गणतन्त्रको नारा उठाएर देशमा राजतन्त्र मासिएपछि खनाल मुर्छित भएका हुन् । त्यसैले उनले गगनको मानमर्दन गर्न खोजेको कसैले भुलेको छैन । तर, त्यसको ठूलो मूल्य उनले चुकाउनुपर्ने निश्चित छ ।
किनभने अमेरिकामा कांग्रेस समर्थकको कमी छैन । खनालले एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै लेखेका छन्, ‘झापामा टाउका काट्नेदेखि १७ हजारका घाँटी निमोठ्ने र यिनलाई बोक्ने, बोकिनेहरू कोही दूधले नुहाएका छैनन् ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।