गोरखा - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले आफ्नो अडानलाई दोहोर्याएका हुन् । उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन ।
कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’ आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए ।
थापाले २०७४ मा कांग्रेसले समर्थन गरेर निर्वाचित भएका डा.बाबुराम भट्टराईको प्रसंग उठाउँदै भने, ‘कांग्रेसकै सहयोगमा चुनाव जितेर जानेले उल्टै कांग्रेसलाई संग्रहालयमा लगेर राख्नुपर्छ भनेर भने । अब कांग्रेसको उम्मेदवार कांग्रेस नै हुन्छ । त्यसको लागि जित्ने गरी अहिले नै तयारी गर्नुस् ।’ गोरखा २ मा कांग्रेसको उम्मेदवार अरु पार्टीको प्रतिनिधि नहुने र कांग्रेसी नै उम्मेदवार बन्ने थापाको भनाइ छ ।
‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो’, उनले भने । थापाले पार्टीका नेता कार्यकर्तालाई विधान अनुसार गतिविधि गर्न निर्देशन दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।