काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झन्डै २५ वर्ष नेपाली राजनीतिको केन्द्रविन्दुमा रहे । ०५२ सालमा सशस्त्र माओवादी विद्रोह सुरु गरेसँगै उनको चर्चा सुरु भएको हो ।
०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला प्रचण्ड सबैतिर छाएका थिए । त्यसपछि उनी राज्यसत्ताको नेतृत्व गर्ने ठाउँमा दुई दुईपटक पुगे ।
शान्तिपूर्ण राजनीतिमा आएको १५ वर्षमा उनको पार्टी माओवादी १२ वर्षसम्म सत्तामा बस्यो । तर, पार्टी बलियो हुनुको साटो झन् झन् कमजोर हुँदै गयो ।
कतिसम्म भने आठौं महाधिवेशनसम्म आइपुग्दा माओवादी संगठन प्रज्ञा प्रतिष्ठानको हलमा सीमित हुन पुग्यो । मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, सीपी गजुरेल, लेखराज भट्ट जो कुनै समय माओवादी पार्टीको खम्बा थिए ।
ती कुनै पनि नेता अहिले प्रचण्डसँग छैनन् । यसले पनि माओवादी पार्टीको ओज घटेको हो । यी नेताहरू जो प्रचण्डसँग विमति राख्थे कुनै न कुनै कारबाहीमा परे । र, पार्टीबाट बाहिरिन पुगे ।
२५ वर्षकै अवधिमा माओवादी पार्टीको यो हविगत होला भनेर कसैले कल्पनासमेत गरेको थिएन । नेपालमा यति चाँडै कुनै पार्टी कमजोर भएको यो नै पहिलो घटना हुन सक्छ ।
अवस्था कस्तोसम्म छ भने माओवादी केन्द्र कुनै बलियो दलसँग गठबन्धन नगरी चुनावमा जानसक्ने अवस्थामा छैन । त्यही भएर एमाले अध्यक्ष केपी ओलीले अर्ली इलेक्सनको माग गर्दा प्रचण्ड तर्सिन थालेका हुन् ।
यदि ओलीले बुद्धि पुर्याएको भए माओवादी पार्टी इतिहासबाटै विलुप्त हुने थियो । एमाले र माओवादी केन्द्रको एकता खारेज भएकाले यो पार्टी अस्तित्वमा आएको सबैलाई थाहै छ । आठौं महाधिवेशनमा प्रचण्डले साढे दुई घन्टा लगाएर वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।
तर, विगतका जस्तो राजनीतिक प्रतिवेदन सशक्त नभएको माओवादी नेताहरूले नै बताउन थालेका छन् । कतिसम्म भने माओवादीले कुनै पनि दललाई प्रधान शत्रु किटान गर्न सकेन ।
विगतमा माओवादीको प्रधान शत्रु नेपाली कांग्रेस र भारत रहने गथ्र्यो । अहिले ती दुवै विषय प्रचण्डको प्रतिवेदनमा छैन । यसले पनि प्रचण्डको राजनीति अब सेलाएको धेरैले अनुमान गर्न थालेका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले कसैलाई गाली नगरी सम्बोधन टुंग्याउनु र बारम्बार आफूभित्रैबाट कमीकमजोरी सुधार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुले उनी धेरै गलिसकेको बुझिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।