काठमाडौं - माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि सुरु भएको छ । महाधिवेशनको उदघाटन सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
उदघाटन सत्रमा विभिन्न पार्टीका शीर्ष नेताले महाधिवेशन सफलताको शुभकामना दिएका थिए । यसैक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले पनि आफ्नो मन्तव्य राखेका छन् । उनले आफ्नो भनाइ राख्ने क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दह्रो च्यालेन्ज दिएका छन् ।
उनले प्रचण्डले पार्टीलाई बीचमै छाडेर हिँड्ने अधिकार नभएको भन्दै कम्युनिस्ट पार्टीबीच एकता गर्नुपर्ने प्रस्ताव राखे । उनले भने, ‘नेतृत्व छोडेर किताब लेख्छु भनेर अध्यक्षज्यूले धर पाउनुहुन्न । क्रान्तिलाई बीचमा छाडेर जान पाउनु हुन्न ।
बीचमा छोड्ने त अवसरवादी हो । यो कुरा अध्यक्षले नै बेलाबेला भन्नुहुन्छ । पार्टी एकता कसले भत्कायो ? पार्टि फुटेको सर्वेसर्वा मान्देओस्, प्रधानमन्त्री भइराख्न पार्टी फुटेको हो ? भावनाले चल्दैन कमरेड । अब वामपन्थी एकता हुनुपर्छ । विचारको एकता हुनुपर्छ । इमान्दार कम्युनिस्टसँग गर्नुपर्छ । नत्र कहाँ ब्रेक लाग्छ टुंगो हुँदैन ।’
केही समयअघि प्रचण्डले आफू नेतृत्वमा बस्न नचाहेको बरु किताब लेख्न मन लागेको धारणा सार्वजनिक गरेका थिए । त्यही अभिव्यक्तिको खण्डन गर्दै मातृकाले कडा प्रहार गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।