काठमाडौं - माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनको तयारीमा लागेको छ । आगामी पुस १० देखि १२ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ ।
यो राष्ट्रिय सम्मेलनले माओवादीमा नयाँ नेतृत्व चयन पनि गर्ने छ । तर, अध्यक्ष भने सदाबहार रूपमा पुष्पकमल दाहाल प्रचण्ड नै हुने निश्चित छ । किनभने अहिलेसम्म प्रचण्डले आफ्नो उत्तराधिकारी तयार पारिसकेका छैनन् ।
प्रचण्डपछि पार्टीको नेतृत्व लिन सक्ने भनिएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट एमाले प्रवेश गरेपछि माओवादी केन्द्रमा प्रचण्डपछि नेतृत्वको खडेरी देखिएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पार्टीको पहिलो नेता बन्न खुबी छैन ।
कृष्णबहादुर महरा महिलाकाण्डमा मुछिएपछि राजनीतिक रूपमा विवादित बनेका छन् । यद्यपि प्रचण्डले उनलाई ग्रुम गर्न खोजिरहेका छन् । तर, पार्टीमा उनी स्वीकार्य भए पनि इतर पार्टीका समर्थक र शुभेच्छुकले उनलाई स्वीकार्न तयार छैनन् ।
सभामुख रहेका अग्निप्रसाद सापकोटाको राजनीतिक उचाइ योभन्दा माथि जान सक्ने देखिएको छैन । उनी काभ्रेका अर्जुन लामाको हत्यामा तानिएका नेता हुन् । कुनबेला त्यो मुद्दामा उनी तानिने हुन् ठेगान छैन ।
त्यसैले अब माओवादीको भावी नेतृत्वमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा कि वर्षमान पुन भन्ने देखिएको छ । तर, वर्षमान पुन पनि अबका दिनमा राजनीतिमा त्यति सक्रिय होलान् भन्ने कसैले सोचेको छैन । किनकि उनको स्वास्थ्य अवस्थाले साथ देला भन्ने देखिएको छैन ।
उनी अहिले चीनमा स्वास्थ्य उपचार गराइरहेका छन् । यस्तो अवस्थामा खुदो पल्टिएको जनार्दन शर्माकै हो । तर, उनी पनि निकै विवादित बनेका छन् ।
अर्थमन्त्रीको कुर्सीमा बसेर राज्यका पोलिसी ह्याक गरी अर्बपति व्यापारीलाई सूचना उपलब्ध गराउने र त्यसबाट करोडौं कमाउने उनको नियत देखिएको छ ।
केही दिनदेखि राज्यका पोलिसी ह्याक गरेर उनले व्यापारीलाई सूचना दिने गरेको समाचार मिडियामा आइरहेका छन् । त्यसैले शर्मा पनि माओवादी नेतृत्वमा पुग्ने सम्भावना कमजोर बन्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।