काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित भएको छ ।
बैठकमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ ।
प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा आईतबार बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले वहिष्कार गरेको थियो ।
प्रधानमन्त्री देउवाले संसद्बाट एमसीसी परियोजना पास गर्ने गरी बैठकमा छलफल अघि बढाएका थिए तर सत्तारुढ गठबन्धनमा रहेका दलहरु नै सो विषयमा विभाजित बनेपछि बैठक बिना निष्कर्ष सकिएको छ ।
‘प्रधानमन्त्रीको जोडबल एमसीसी अघि बढाउन ढिला भयो भन्ने थियो तर सत्तारूढ दलभित्रैका नेताहरूबाट एमसीसीका विषयमा विभाजित भनाइ आयो, एमसीसीमा सहमति हुने अवस्था छैन तर कांग्रेसको जोडबल छ,’ बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानूनभन्दा माथि नरहेको र परियोजना अनुदान रहेकाले नेपाललाई अहित नगर्ने भनेका थिए ।
‘एमसीसी नेपालको कानूनभन्दा माथि छैन । राष्ट्रकै पक्षमा छ, संसद्बाट अनुमोदन गरेर जाऊँ यो परियोजना अनुदान हो, यसले नेपाललाई अहित गर्दैन,’ प्रधानमन्त्री देउवाले बैठकमा भने ।
बैठकमा सबै राजनीतिक दलहरुले आ–आफ्नो धारणा राखेको र फ्रि छलफल गरेर निष्कर्षमा पुग्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राखेका थिए ।
‘एमसीसी खारेज गर्नुपर्छ, जनतामा यसले नराम्रो छाप छोडिसकेको छ, यसलाई अघि नबढाऔं,’ बैठकमा धारणा राख्दै नेमकिपाका सुवालले भने । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले समेत एमसीसी खारेज गर्नुपर्ने र कुनै हालतमा संसद्बाट अघि बढाउनै नहुने मत राखेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष बुद्धिमान तामाङले समेत एमसीसी नेपालको हितमा नरहेको भन्दै समर्थन गर्न नसक्ने धारणा राखेका छन् तर सत्तारुढ मध्येका दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेताहरु भने बैठकमा विभाजित रुपमा प्रस्तुत भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले एमसीसी अघि बढाउन हतार गर्न नहुने धारणा राख्दा सोही दलका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी रोक्न नहुने मत राखेका छन् । उनले सके सहमति नभए प्रक्रियाबाट भए पनि एमसीसीलाई संसद्बाट अघि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।
माओवादी केन्द्रमा समेत एमसीसीका विषयमा दुईमत देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई परिमार्जन गरेर भए पनि अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् भने नेता नारायणकाजी श्रेष्ठले एमसीसी अघि बढाउन नहुने मत राखेका हुन् ।
प्रचण्डले सर्वपक्षीय रुपमा व्यापक परामर्श गरेर एमसीसीलाई निर्णयमा पुर्याउनुपर्ने भन्दै आएका छन् ।
सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक समेत बसेको थियो । बैठकमा पनि ५ दलबीच समझदारी बनाएर मात्र एमसीसी अघि बढाउने सहमति भएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका नेता झलनाथ खनाल, जसपा अध्यक्ष यादव र भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद सुवाल, जनमोर्चाका महासचिव भट्ट लगायत नेता सहभागी रहेका थिए ।
माओवादीमा दुई धार !
अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रमा २ धार देखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठबीच नै एमसीसीप्रति एकमत नभएको आईतवार बसेको सर्वदलीय बैठकमै देखियो । अध्यक्ष प्रचण्ड संशोधन गरेर भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा उभिएका छन् भने नेता श्रेष्ठले कुनै पनि हालतमा पास गर्न नहुने अडान राखेका छन् ।
अध्यक्ष प्रचण्डलाई अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल लगायतको साथ रहेको छ । नेता श्रेष्ठसहित देव गुरुङ गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायत नेताहरु एमसीसीको विरोधमा उभिएका छन् ।
सर्वदलीय बैठकमा संशोधन गरेर पास गर्न सकिने तर्क गरेका अध्यक्ष दाहालले भने, ‘सन् २०१७ मा सम्झौता गर्दाका केही प्रावधान सन् २०१९ मा परिमार्जन भएकाले समस्या भएको हो । एमसीसीलाई संसद्को सहमति किन चाहियो ? केही समय कुरौं, देशविरुद्ध नभए पास गरेर जान सकिन्छ ।’
तर अध्यक्ष प्रचण्डको भनाइको नेता श्रेष्ठले प्रतिकार गरेका थिए । यही रुप र अवस्थामा कुनै हालतमा एमसीसी अगाडि बढाउन नसकिने उनले अडान लिएका थिए । ‘यही अवस्था र यही रुपको एमसीसी अगाडि बढाउनै मिल्दैन, ‘अहिले नै जस्ताको त्यस्तै संसद्मा टेबल गर्न मिल्दैन,’ श्रेष्ठले भने ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्ड केही समय एमसीसीलाई धकेल्न चाहन्छन् । केही दिनमै हुने राष्ट्रिय सम्मेलनबाट म्यान्डेट लिएर एमसीसी अगाडि बढाउने उनको योजना छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीलाई पनि एउटा एजेन्डाका रुपमा छलफलमा लैजाने स्रोतको दाबी रहेको छ ।
सत्तारुढ गठबन्धनबाट कार्यदल गठन
सत्तारुढ गठबन्धन दलहरुले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल बनाएका छन् । सत्तारुढ गठबन्धनको आईतवारको बैठकले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेको कार्यदल गठन गरेको छ ।
कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।