आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गठबन्धनभित्रै प्रधानमन्त्री देउवालाई गाह्रो तर एमाले साथ दिन तयार !

गठबन्धनभित्रै प्रधानमन्त्री देउवालाई गाह्रो तर एमाले साथ दिन तयार !

  • मिडिया डबली
  • सोमवार, पौष ५ २०७८

  • 3.6K
    SHARES

  • गठबन्धनभित्रै प्रधानमन्त्री देउवालाई गाह्रो तर एमाले साथ दिन तयार !
    फाइल तस्वीर

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट गाह्रोमा परेका छन् ।

    देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसीसी अनुमोदन गराउने पक्षमा छन् । त्यसका लागि सहमति खोज्न उनले आईतवार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेका छन् तर सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागी नै भएन भने सत्ता गठबन्धनमै रहेका दलहरू समेत एमसीसीको विपक्षमा उभिए । यसकारण प्रधानमन्त्री देउवा गठबन्धनभित्रैबाट अप्ठ्यारोमा परेका हुन् ।

    सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसीसीको विपक्षमा उभिने स्पष्ट पारेको छ । सत्ता गठबन्धनमा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसीसी मुलुकको हितमा नभएको जनाएका छन् ।

    ती दलले एमसीसीको विपक्षमा उभिने बैठकमा स्पष्ट पारेका छन् । ‘एमसीसीका सम्बन्धमा केही प्रश्न उठेका छन्, तिनका बारेमा स्पष्ट नभएसम्म समर्थन गर्न नसक्ने ३ दलले स्पष्ट गरेका छौं,’ सर्वदलीय बैठकमा सहभागी राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले भने, ‘सर्वदलीय सहमति कायम गरेर अघि बढ्छौं । गठबन्धनका दलभित्र ती विषयमा छलफल गरेर फेरि बैठक बोलाउने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ ।’                                             

    सत्ता गठबन्धनका प्रमुख २ साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एमसीसी पारितको विपक्षमा उभिएका छन् । दुवै दलले अहिलेकै अवस्थामा एमसीसी पारित गर्ने अवस्था नभएको जनाउँदै उठेका प्रश्नहरुमा स्पष्टता आवश्यक रहेको धारणा राखेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे विभिन्न संशय उत्पन्न भएको उल्लेख गरेका छन् । एमसीसीका विषयमा उठेका प्रश्न सम्बोधन नगरी त्यसलाई अघि बढाउन नसकिने तर्क गर्दै प्रचण्डले बैठकमा भनेका थिए, ‘हामीले सत्ता गठबन्धनमा पनि छलफल गर्दै आएका छौं, यसबारे थप स्पष्ट हुनुपर्ने अवस्था छ ।’

    राष्ट्रिय हितविपरीत रहेका विषयहरुलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राख्दै प्रचण्डले त्यसअघि संसद्मा टेबल नहुने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

    सत्ता गठबन्धनकै अर्को दल एकीकृत समाजवादी पनि एमसीसी अहिलेकै अवस्थामा पारितको विपक्षमा देखिएको छ । सत्ता गठबन्धनको बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए तर सर्वदलीय बैठक सुरू भएलगत्तै औषधि खाने बेला भयो भन्दै अध्यक्ष नेपाल निस्केपछि एकीकृत समाजवादीका तर्फबाट महासचिव बेदुराम भुसालले दलीय धारणा राखेका थिए ।

    भुसालले पनि प्रचण्डले जस्तै एमसीसीमाथि उत्पन्न संशयहरूबारे स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न सकिने अवस्था नभएको धारणा राख्दै उनले अनुमोदन गर्ने या नगर्ने भन्ने धारणा तत्काल राख्न नसकिने बताएका छन् ।

    त्यसपछि कांग्रेस नेता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पारित गर्नुपर्ने आशय सहितको धारणा राखेका थिए । कार्कीको धारणामा असन्तुष्टि जनाउँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ एमसीसी पारितको विपक्षमा उभिए । आफ्नो दल माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने निर्णय गरेको धारणा उनले राखेका थिए ।

    तर जनता समाजवादी पार्टी (जसपा) नेता बाबुराम भट्टराई र कांग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए । अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसीसीप्रति केही लचिलो देखिए पनि सत्ता गठबन्धनको स्पष्ट धारणा माग गरेको थियो । प्रस्ताव अघि बढेपछि आफ्नो दल निर्णयमा पुग्ने लोसपाका प्रतिनिधिले बताएका छन् ।

    बैठकमा सहभागी नेमकिपाका नेता प्रेम सुवालले सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकै अवस्थामा एमसीसी पारित गर्ने पक्षमा नरहेको बताएका छन् । ‘कांग्रेससँग बहुमत छैन । माओवादी र समाजवादी अहिलेको अडानमा कायमै रहने हो भने संसद्बाट एमसीसी पारित हुँदैन,’ उनले भने ।

    सुवालले एमसीसीको दफा ४.२, दफा ६.८, दफा ७.१ सहित अनुसूची ५ (क) मुलुकको हितविपरीत रहेको बताएका छन् । बैठकपछि सञ्चारमन्त्री कार्कीले संघीय संसद् निरन्तर अवरुद्ध हुँदा नियमित काम र जनताको अपेक्षा कमजोर हुन पुगेकोमा सबैको एकमत रहेको बताएका छन् । ‘जननिर्वाचित संस्थालाई यसरी लामो समय बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्त्वपूर्ण विधेयक र प्रस्तावहरु समेत अल्झिएका छन्,’ बैठकपछि सञ्चारमन्त्री कार्कीले भने, ‘संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । सबै विषयमा सहमति खोज्दै अघि बढ्छौं ।’

    त्यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीकै विषयमा सहमति जुट्न नसकेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र सञ्चारमन्त्री कार्की रहेको ३ सदस्यीय समिति गठन गरिएको छ । त्यसले अहिले उठेका विषयमा स्पष्ट गर्ने र स्पष्टता खोज्ने प्रयास गर्ने जानकारी दिइएको छ ।

    त्यसपछि गठबन्धनभित्र मात्र होइन, सर्वदलीय सहमतिको प्रयास गर्ने जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘सहमति जुट्न सकेन भने लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार प्रस्ताव संसद्मा अघि बढ्छ ।’

    सत्ता गठबन्धनमा रहेका दलहरु एमसिसीको पक्षमा उभिनेमा आफूहरु विश्वस्त रहेको भन्दै एक नेताले भने, ‘सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेर गठबन्धन अघि बढ्न सक्दैन ।’

    माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनभित्रका दलहरुलाई एमसीसीको विपक्षमा उभ्याएर प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्न लागेको त होइन भन्ने आशंका कांग्रेसमाथि पर्न थालेको स्रोतको दाबी छ ।

    सरकार र प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने काम कसैले पनि गर्न नहुने भन्दै एक नेताले भने, ‘अहिलेको गठबन्धन भत्कने हो भने एमालेले एमसीसी मात्र होइन, निर्वाचनसम्म विना शर्त कांग्रेस नेतृत्व सरकारलाई समर्थन गर्न तयार छ तर प्रधानमन्त्री देउवा अहिले गठबन्धन भत्काउने पक्षमा हुनुहुन्न ।’

    तर अहिलेको गठबन्धन कायम रहेसम्म एमालेले एमसीसी पारित गर्नदेखि अन्य काममा पनि सरकारलाई सहयोग गर्न नसकिने अध्यक्ष केपी ओलीका साथै एमालेका विभिन्न तहका नेताहरुले कांग्रेसलाई सन्देश पठाइरहेको स्रोतको दाबी रहेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend