काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् ।
नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको परिणामले माथिल्लो नेतृत्व तहमा थापा र शर्मालाई पुर्याएको छ ।
मंसिर २७ गते सम्पन्न १४औं महाधिवेशनअन्तर्गत महामन्त्रीका लागि भएको निर्वाचनबाट थापा र शर्मा निर्वाचित बनेका छन् । २ महामन्त्रीका लागि महाधिवेशनमा ६ जना उम्मेदवार मैदानमा रहेका थिए ।
निर्वाचित थापा ६ उम्मेदवारमध्ये सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी बनेका छन् भने शर्माले १ हजार ९८४ मत ल्याएका छन् ।
महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले १ हजार ५५६, प्रदीप पौडेल १ हजार ३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका छन् ।
कांग्रेस विधानमा २ महामन्त्री निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । महाधिवेशनमा ४ हजार ७४३ मतदाता रहेकोमा ४ हजार ६७९ मत खसेको थियो ।
महामन्त्री पदमा निर्वाचित बनेपछि थापाले आफू एक दिन पनि चुक्ने वा थाक्ने नगरी महाधिवेशनमा पाएको मतलाई न्याय गर्दै पार्टीका लागि काम गर्ने बताएका छन् ।
‘मैले पाएको मतलाई मैले न्याय गर्नुपर्छ, एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन, म अझै इमानदारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु,’ उनले भने ।
नवनिर्वाचित महामन्त्री शर्माले आफ्नो जित व्यक्तिको वा गुटको जित नभएर कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।
‘यो एउटा व्यक्तिको विजय होइन, गुटको विजय पनि होइन, सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरूआत गर्ने यात्राको प्रारम्भ हो ।’ नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माले भने ।
कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा र शर्माको महामन्त्रीमा भएको विजयले लोकप्रियतालाई पनि स्थापित गराइदिएको छ । कांग्रेस महाधिवेशनको परिणामबाट राजनीतिक तहको वंश र विरासत नभएका भूइँमान्छे कांग्रेसको निर्णय गर्ने थलोमा पुगेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।