काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुनै पनि प्रकारको ५ बुँदे सहमति नगरेको स्पष्ट पारेका छन् ।
हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएको आरोप लगाएको सन्दर्भमा आज बिहीबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले सहमति भएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
वक्तव्यमा उल्लेख छ, ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको ५ बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झूटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
अध्यक्ष प्रचण्डले आफूले शेयर बजारमा सन्दर्भमा गरेको विश्लेषण समेत सही रहेको दावी पनि गरेका छन् । ‘माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु,’ वक्तव्यमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।