काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई सिंगापुरको सन्तोसा आइसल्यान्डजस्तै बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताएका छन् ।
भरतपुर महानगरपालिकाले शनिवार आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले सिबीच मोडलको रूपमा नारायणी नदीको विकास गर्दा पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पनि एउटा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपालका धेरै ठाउँमा जल, जंगल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने प्रचण्डले बताए ।
उनले जल, जंगल र जमिनको सही ढंगले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । प्रचण्डले भनेका छन्, ‘नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।’
यी सबै जल, जमिन र जंगलसँगै सम्बन्धित रहेको भन्दै उनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरूपमा आर्थिक विकासका निम्ति मोडेल रहेको बताएका छन् । आफूले यसलाई चितवनको विकासको मोडेलको रूपमा लिएको प्रचण्डले बताए ।
विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै प्रचण्डले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताएका छन् । ‘भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरूपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।
चितवनको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको बताउँदै प्रचण्डले भनेका छन्, ‘शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।’ यो विकासको पनि केन्द्रबिन्दु होस् भन्नका लागि सबैले सपना देखेको प्रचण्डले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।