काठमाडौं - एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले आज पदबहाली गर्दैछन् । दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा उनले पदबहाली गर्ने भएका छन् ।
यसअघि सात वर्ष एमालेको अध्यक्ष भइसकेका ओली अब फेरि चार वर्षका लागि पार्टी नेतृत्वमा रहनेछन् । चितवन पुग्दा ओलीमा एउटा जोश र उमंग थियो । नेता कार्यकर्ता उत्साहित थिए खासगरी ओली पक्षका ।
तर ओलीले प्रस्तावित गरेको केन्द्रीय कमिटीका अधिकांश पदमा निर्वाचन भयो, तब ओलीलगायत उनी पक्षका नेता कार्यकर्ता रंग उडेको जस्तो देखिए ।
भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, टंक कार्कीलगायतले ओलीको एकलौटी नेतृत्व छान्ने निर्णयलाई चुनौती दिएसँगै उनीहरूले राजनीति जितेका छन्, भलै सबैले निर्वाचनमा पराजय बेहोरे ।
यदि रावल, भुसालले यो आँट नगरेको भए एमाले माओवादी केन्द्रकै अवस्थामा पुग्ने थियो । जसरी तीन दशकदेखि पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई एक्लैले हाँक्दै आएका छन्, ओली पनि त्यही बाटोमा हिँड्न खोजेका थिए ।
तर भीम रावल र घनश्याम भुसालहरूले एमालेमा आन्तरिक लोकतन्त्रको बीउ जोगाइदिए । झन्डै ९० प्रतिशत महाधिवेशन प्रतिनिधि ओलीतिर छन् भन्ने जान्दाजान्दै र नेतृत्व निरंकुश बन्न खोज्दा पनि रावल र भुसाल टसमस भएनन् । यसले पनि ओलीलाई सार्वजनिक रूपमा मुख देखाउन निकै गाह्रो भइरहेको छ । मुखले लोकतन्त्रको दुहाई दिने अनि महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन गर्नु हुँदैन भन्ने ओलीको भनाइ अधिनायकवादी र निरंकुश भएको पुष्टि भइसकेको छ ।
आज पदबहाली कार्यक्रममा ओलीले के कस्तो अर्ति र उपदेश देलान् त्यो भने चासोको विषय बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।