काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएसँगै उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’ समेत विजयी भएका छन् ।
तत्कालीन नेकपा विभाजित हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडेर ओलीसँगै एमालेमा रहेका बादल १०औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा सर्वाधिक मतसहित अष्टलक्ष्मी शाक्य पहिलो नम्बरमा रहँदा १ हजार ९७६ मत ल्याएकी छन् ।
उपाध्यक्षको दोस्रो नम्बरमा रहेका सुरेन्द्र पाण्डेले १ हजार ९२५ मत पाएका छन् भने तेस्रो नम्बरमा रहेका सुवासचन्द्र नेम्वाङले १ हजार ८६५ मत पाउँदै विजयी भएका छन् ।
अध्यक्ष ओलीका विश्वासपात्र मानिने विष्णु पौडेल १ हजार ८५६ मतसहित उपाध्यक्षका उम्मेदवारमध्ये चौथो नम्बरमा रहेका छन् । पाँचौं नम्बरमा रहेका युवराज ज्ञवालीेले १ हजार ८४२ मत ल्याएर उपाध्यक्षमा जितेका छन् ।
पूर्व माओवादीबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ छैठौ नम्बरमा रहँदै १ हजार ७६८ मतका साथ निर्वाचित भएका छन् । एमालेमा ६ उपाध्यक्ष रहने प्रावधान रहेको छ ।
अध्यक्ष ओलीको प्रस्तावविरुद्ध उम्मेदवारी दिएका घनश्याम भुसाल भने ७२५ मतका साथ सबैभन्दा पुछारमा रहँदै पराजित भएका छन् ।
एमालेको चुनावमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकोमा २ हजार ७९ जनाले मतदान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।