काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ५७ महाधिवेशन प्रतिनिधिले सहभागिता जनाएनन् ।
कूल २ हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ मत मात्रै खसेको छ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि २ हजार ९६ मत खसेको जानकारी सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कूल २ हजार ९६ मत खसेको र रुजुको क्रम समेत सकिएको जानकारी दिए ।
सदस्य दाहालले अबको २ घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए । ‘हामी २ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौं,’ दाहालले भने ।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन प्रतिनिधि घर फर्किएकाले भोट कम खसेको जानकारी दिए । तामाङले भने, ‘कतिपय साथीहरूले भनेरै घर जानुभयो । कति बिदा मागेर जानुभयो भन्ने रेकर्ड राखेका छौं ।’
महाधिवेशनमा अध्यक्ष पदका २ उम्मेदवार छन् । अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच अध्यक्ष पदको प्रतिस्पर्धा छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत भएका छन् भने उपाध्यक्षमा ६ जना हुनुपर्नेमा ७ जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत चुनिएका छन् ।
सचिवमा ७ पदका लागि ९ जनाबीच चुनावी प्रतिस्पर्धा भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले आजै दिउँसो २ बजेसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुने जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।