काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत मंगलबार मतदान कार्य सकिएको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका थिए । मतदान सकिएलगत्तै प्रतिक्रिया जनाउँदै नेता रावलले खुसी व्यक्त गरेका छन् ।
उनले आफ्नो धारणा अनुसार नै नयाँ नेतृत्व चयनका लागि चुनाव भएकोमा खुसी व्यक्त गरे । मतपरिणाम नआउँदै सञ्चारकर्मीसँग उनले भने, ‘निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा थियो । मेरो धारणा अनुरुप नै निर्वाचन भएको ठानेको छु ।’
रावलले मतदानका क्रममा आचारसंहिता विपरीतका गतिविधि भएकोप्रति असन्तुष्टि समेत जनाएका छन् । समूहगत सूची वितरण गरिएकोप्रति रावलले निर्वाचन आयोगलाई जानकारी गराएको र प्रहरीलाई समेत त्यस्ता गतिविधि हुन नदिन आग्रह गरेको बताए ।
उनले भने, ‘मतदानका क्रममा केही कुराहरु भएका छन् २–४ वटा, त्यसको मैले सार्वजनिक आलोचना गरेको छु । हाम्रो पार्टीको चुनावी आचार संहिताअनुसार समूहगत सूची बाँड्न नपाउने भन्ने थियो । त्यसबारे आयोग जानकारी र सुरक्षाकर्मीलाई भनेको थिएँ तर त्यो कार्य बन्द भएन । विरोध गर्दा हातपातको प्रयास पनि भयो ।’
मतदान विद्युतीय यन्त्र उपकरणको माध्यमबाट पहिलो पटक भएकाले राम्रै भयो होला भन्ने ठानेको उनले बताएका छन् । रावलले मतगणनाका लागि तयारी भइरहेको समेत जानकारी दिए ।
रावलले आफ्नो केन्द्रीय सदस्य पदमा उम्मेदवारी नरहेको र अध्यक्षमा मात्रै उम्मेदवारी रहेको कुरा आयोगलाई जानकारी गराएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।