काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले सोमबार बिहान १९ पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेका छन् ।
ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा समावेश भए पनि भीम रावल र घनश्याम भुसालले चुनावमै जाने भनेर उम्मेदवारी दर्ता गराइसकेका छन् । रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि अब चुनावबाटै नेतृत्व फाइनल हुने भएको छ ।
एमाले महाधिवेशन प्रतिनिधिमा ९० प्रतिशतभन्दा बढी ओली निकट आएका छन् । तर, पनि रावल र भुसालले किन निर्वाचन रोजे त ? यसको विश्लेषण र बहस हुँदै जाला । तर, दुई नेताको अडानलाई भने धेरैले सराहना थरेका छन् ।
ओलीले माओवादी केन्द्रबाट आएका तीन नेतालाई पदाधिकारी दिएका छन् । जसमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट छन् ।
तर आफ्नै समूहका अझ भनौं ओलीलाई काँधमा बोकेर हिँड्ने गोकुल बासकोटा र महेश बस्नेतलाई पदाधिकारी बनाएनन् । जबकि बासकोटा र बस्नेतलाई सचिव बनाउन ओली समूहमा धेरै दबाब परेको थियो ।
ओलीले नै पदाधिकारीमा नपत्याएपछि बासकोटा र बस्नेतको चुरिफुरी सक्किएको छ । दुवैलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । एमाले विभाजन भएपछि माधवकुमार नेपाल समूहलाई सत्तोश्राप गर्नेमा गोकुल र महेश अग्रपंक्तिमा थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।