काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीको गुट भत्किएको छ ।
विद्या र केपीको गुटमा रहेका प्रभावशाली नेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङलले ओलीको ‘आदेश’ नमानी छुट्टै हिँडेका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई सहयोग गर्न ओलीले गरेका आग्रह सुवासले अस्वीकार गरेका छन् । विद्या भण्डारीबाट समेत ईश्वरलाई नै वरिष्ठ उपाध्यक्ष बनाउन दबाब आएको स्रोतले जनाएको छ ।
विद्या र केपीले ईश्वरलाई च्यापेपछि सुवासले अर्का प्रभावशाली नेता घनश्याम भुसालसँग साँठगाँठ गरेका छन् । भुसालले वरिष्ठ उपाध्यक्षमा सुवासलाई सहयोग गरेर आफू उपाध्यक्ष पदमा चुनाव लड्ने भएका छन् ।
पार्टीमा समन्वयकारी भूमिका निभाउने र शान्त स्वभावका नेम्वाङ र ईश्वरबीच चुनावी टक्कर हुँदा नेम्वाङ जित्ने विश्लेषण हुन थालेको छ । यसबाट विद्या र केपीलाई ठूलो धक्का लाग्नेछ ।
नेम्वाङलाई मनाउन ओलीले भविष्यमा राष्ट्रपति बनाउने आश्वासन दिएका थिए तर नेम्वाङले मानेनन् । ओलीले अष्टलक्ष्मी शाक्यलाई समेत उपराष्ट्रपति बनाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका घनश्याम भुसालले नेम्वाङलाई समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषण गरेका छन् । वरिष्ठमा भुसालले नेम्वाङलाई समर्थन गरेर ईश्वर पोखरेललाई चुनाव हराउने गोप्य सहमति भएको स्रोतले जानकारी दिएको छ ।
भुसालले वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिने तयारी गरेका बेला नेम्वाङले छलफलका लागि बोलाएका थिए । छलफलमा नेम्वाङले दुवै लड्दा ईश्वर जित्ने भएकाले अरु पदमा लड्न भुसाललाई आग्रह गरेका थिए । नेम्वाङको आग्रहलाई स्वीकार्दै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
वरिष्ठका आकांक्षी नेम्वाङले भुसाललाई भनेका छन्, ‘तपाईं र म वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दा ईश्वर पोखरेललाई फाइदा हुन्छ । हामी दुबै जना चुनाव हार्छौं ।’ यस्तो विश्लेषणपछि भुसालले नेम्वाङलाई समर्थन गरेर चुनावी मैदानमा जाने तयारी गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।