काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशन अब २ दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरु आन्तरिक रणनीतिमा जुटिरहेका छन् ।
महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरु रणनीतिमा जुटेका छन् । १०औं महाधिवेशनमा महासचिवका ५ जना दाबेदार रहेका छन् ।
वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि केपी शर्मा ओली नै अध्यक्ष बन्नेमा दुईमत देखिँदैन तर रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट धक्का लागेको छ ।
अध्यक्षपछिको प्रभावशाली पद महासचिव को बन्छ भन्ने कार्यकर्तामा कौतुहलता बढेको छ । १०औं महाधिवेशनमा महासचिव बन्ने दौडमा विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डे लगायत चर्चामा रहेका छन् ।
अध्यक्ष ओली पक्षबाटै पौडेल र पोखरेल महासचिवका बलियो दाबेदार हुन् । नवौं महाधिवेशनमा उपमहासचिव हारेका पोखरेल अध्यक्ष ओलीका विश्वास पात्र मानिएका छन् ।
एमालेमा महासचिवका मुख्य दाबेदार मानिएका पौडेल तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । उपमहासचिव पौडेल संगठन विभाग प्रमुख तथा २ पटक अर्थमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । ओलीनिकट मानिने नेता जसरी पनि महासचिव हुनुपर्ने रणनीतिमा रहेका छन् ।
ओलीनिकट पौडेल र पोखरेल दुबै लुम्बिनी प्रदेशका नेता रहेका छन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेललाई ओलीको मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको बताइन्छ । जबजको व्याख्याता पोखरेललाई भण्डारीले भित्रभित्रै सहयोग गरिरहेको स्रोतको दाबी रहेको छ ।
आठौं महाधिवेशनसम्म पौडेल माधवकुमार नेपाल पक्षमा थिए तर नवौं महाधिवेशनमा आइपुग्दा उनी ओली समूहबाट उपमहासचिव बनेका थिए । नेकपाको आन्तरिक विवादका समयमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बराबरीजस्तै छलफलमा उनी जुटेका थिए ।
नेपालकै ठूलो दुईतिहाइ जनमतसहित सत्ता सञ्चालनमा रहेको नेकपाको महासचिव बनेर सफल भूमिका निर्वाह गरेका पौडेल एमाले महासचिवको प्रबल दाबेदार रहेका छन् तर सांगठनिक रुपमा बलियो भए पनि सैद्धान्तिक रुपमा जबजको व्याख्या गर्न पूर्ण नभएको भन्ने उनको आलोचना गर्नेहरुको तर्क रहेको छ ।
पोखरेल पार्टीको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए पनि उनी पार्टी राजनीतिको केन्द्रमै रहँदै आएका छन् । नवौं महाधिवेशनमा २ उपमहासचिवका लागि भएको निर्वाचनमा भुसाल र पौडेल विजयी हुँदा पोखरेल पराजित भएका हुन् ।
पोखरेल एमालेको स्कूल विभागको उपप्रमुख समेत बनेका छन् । उनको प्रशिक्षण सधैं जबज केन्द्रित हुने भएकाले पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषक बताउँछन् । जबजप्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति भण्डारीले समेत पोखरेलाई साथ दिनेछन् । यसैले पोखरेल महासचिव बन्नसक्ने उनको पक्षमा बोल्ने नेताहरुको भनाइ रहेको छ ।
तर पोखरेलका आलोचक समेत छन् । उनका आलोचकहरु माधव नेपाल पक्ष बाहिरिँदा आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन नसकेको बताउँदै आएका छन् । मुख्यमन्त्री बन्दा पनि पार्टी भित्रको विवाद मिलाउन नसकेकाले पोखरेलले महासचिव चलाउन नसक्ने उनका आलोचकको तर्क रहेको छ ।
नवौं महाधिवेशनमा पोखरेलसँग ६ मतले पराजित सुरेन्द्र पाण्डे लामो समय माधवकुमार नेपालसँग नजिक रहेका थिए तर एमालेबाट विभाजन हुने समयमा पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन्, अहिले उनी महासचिवका लागि तेस्रोपटक प्रयास गर्दैछन् ।
पाण्डे तत्कालीन नेकपाको महासचिव हुने अन्तिम तयारीमा रहे पनि ओलीले पौडेललाई रोजेका थिए । एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए ।
यसपटक उनी अध्यक्ष ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा रहेका छन् । पाण्डेकै गृह जिल्लामा १०औं महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही संकेत गरेको हुनसक्ने अनुमान समेत गरिएको छ ।
घनश्याम भुसालले समेत महासचिवका लागि तयारी गरेका छन् । उपमहासचिवको जिम्मेवारी पूरा गर्दै गरेका भुसालले १० भाइ समूहको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए तर भुसालले हालसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अलमलमा रहेका छन् ।
एमालेका १० भाइ समूहबाट उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भुसाल अहिले अलमलमा परेका छन् । एमालेभित्र वैचारिक नेताका रुपमा चिनिने भुसालले लामो समय नेपाल पक्षमा रहेका काम गरेका थिए ।
एमाले सचिव रहेका पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका गुरुङ सर्वसम्मत महासचिव हुने रणनीतिमा छन् ।
ओली निकटका गुरुङ ओली समूहबाटै महासचिवको उम्मेदवार भएका पौडेल र पोखरेलसँग समेत आन्तरिक रुपमा प्रतिस्पर्धा गरिरहेका छन् । ओली पक्षबाटै ३ नेताले महासचिवमा दाबेदारी पेश गरेपछि अहिले ओलीलाई समेत नेताहरुको व्यवस्थापन गर्न सकस भएको छ ।
एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हँुदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारी सहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।