काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर १० गतेबाट सुरु हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरु भने ‘पर्ख र हेर’मै देखिन्छन् ।
अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गरेपछि नेताहरुबीच उम्मेदवारीको तयारी सुरु भएको छ ।
भावी नेतृत्वका रुपमा सर्वसम्मत देखिएका ओलीसमक्ष महाधिवेशनको मुखमा ३ वटा चुनौती देखिएका छन् । पार्टी फुटको चोट नसेलाउँदै सुरु हुन लागेको नेतृत्व छान्ने महाधिवेशनमा पदाधिकारी संख्याको तुलनामा आकांक्षी बढी देखिएका छन् ।
तर ओलीको वरिपरि घुमेको एमाले राजनीतिक चक्रका कारण रावलबाहेक अरु नेताले सार्वजनिक रुपमा मुख खोलेका छैनन् । १०औं महाधिवेशनको सम्मुखमा आइपुग्दा आफ्नो नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन गर्न यतिबेला ओलीका लागि ३ मुख्य चुनौती देखिएका छन् ।
१० बुँदेबाट आएकाको व्यवस्थापन
अध्यक्ष पदमा सर्वसम्मतको अभ्यास भइरहेका बेला उपाध्यक्ष भीम रावलले उम्मेदवारीको घोषणा गरेपछि ओलीलाई रावलसँगै पार्टी विभाजनका बेला एमालेतिरै लागेका १० जना स्थायी कमिटी सदस्यलाई मिलाउने मुख्य चुनौती थपिएको छ ।
रावलले उम्मेदवारी घोषणा गर्दै आफ्नो राजनीतिक निर्णय भएको बताउँदै प्रक्रियाको विषय महाधिवेशन हलमा टुंगिने बताएका छन् । उनको उम्मेदवारी घोषणाको तर्क र निकटका नेताका अनुसार रावल अध्यक्षमा दावी गरेर वरिष्ठ उपाध्यक्षको पद सुरक्षित गर्न चाहन्छन् तर ओलीले रुचाएका महासचिव ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारी रहेको छ ।
उपाध्यक्ष रावलसँगै ओलीलाई घनश्याम भुसाल युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका १० बुँदे सहमतिबाट एमालेमा फर्किएका नेताको व्यवस्थापन गर्ने चुनौती रहेको छ ।
रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरे घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिने निकटस्थ नेताहरुसँग बताएका छन् । हालका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि सके पदोन्नति नत्र वर्तमान पदमै सहमति जुटाउने चुनौती समेत ओलीसामु रहेको छ ।
ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने ओलीको तयारी छ भने महिला नेतृत्वमा प्रतिस्पर्धी कम भएका कारण शाक्यलाई उपाध्यक्षमै दोहोर्याउने रणनीतिमा ओली रहेका छन् ।
उता वर्तमान सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराईदेखि लिएर रघुजी पन्तसम्मका १० बुँदे पक्षधर नेताहरुको पदाधिकारीमा अटाउने चाहनाको व्यवस्थापन गर्न पनि ओलीलाई ‘फलामको च्युरा’ हुने देखिएको छ ।
आफ्ना भित्रियालाई मिलाउने
नवौं महाधिवेशनदेखि नै ओलीको पक्षमा खुल्दै आएका विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ १०औं महाधिवेशनमा महासचिवका बलिया दाबेदारका रुपमा रहेका छन् ।
ओलीलाई लामो समयदेखि नजिकबाट सहयोग गर्दै आएका सुवासचन्द्र नेम्वाङ समेत सके वरिष्ठ उपाध्यक्ष नसके उपाध्यक्ष बन्न चाहन्छन् ।
गुरुङले महासचिवमा दाबी पेश गरिसकेका छन् भने वर्तमान उपमहासचिव पौडेल कुनै हालतमा महासचिवको अडानबाट तल नझर्ने बताएका छन् ।
१० बुँदेबाट आएका र विगतमा आफ्ना विश्वासपात्र समेतको लडाइँमा रहेको महासचिव कसलाई दिने भन्ने विषयमा निर्णय गर्न नसक्दा ओलीले निर्वाचनको सामना गर्नुपर्ने अवस्था आउने उनीनिकट नेताहरु नै बताउँछन् ।
माओवादी छाडेका नेताको व्यवस्थापन
एमालेमै रहेर लामो समय राजनीति गरेका नेताको व्यवस्थापनमा सकस परिरहेका बेला सर्वोच्च अदालतको आदेश पनि एमाले र माओवादी बेग्लाबेग्लै पार्टी भएपछि रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह लगायतका नेता एमालेमा समाहित भएका छन् ।
सांसद पद माया मारेर एमाले भएका उनीहरु १०औं महाधिवेशनबाट राजनीतिक क्षतिपूर्ति लिन चाहन्छन् । बादल सके वरिष्ठ उपाध्यक्ष नत्र उपाध्यक्ष बन्ने बटमलाइनमा रहेका छन् ।
ओली उनलाई जनजाति कोटाबाट उपाध्यक्षमा ल्याउन चाहन्छन् तर यसका लागि उनका अर्का विश्वास पात्र नेम्वाङको व्यवस्थापन कहाँ गर्ने भन्ने चुनौती ओलीमा छ ।
दुःखका बेला साथ दिएका माओवादी खेमाका नेताहरुमध्ये कम्तीमा तीनजनालाई पदाधिकारीमा अटाउनैपर्ने दबाबमा रहेका छन् अध्यक्ष ओली । यो दबाबका कारण बादल, रायमाझी र भट्टलाई उपाध्यक्षदेखि सचिवसम्ममा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
तर ७ जना सचिवका लागि अहिले नै १५ जना हाराहारीको दाबी रहेको छ । निर्वाचन प्रक्रियामा जाँदा १० बुँदे पक्षधर र माओवादीबाट समाहित भएका नेताहरु हार्ने पक्का भएका कारण ओली यही डर देखाएर दबाबपूर्ण व्यवस्थापनको रणनीतिमा रहेको एक नेताले बताएका छन् ।
तर दबाबबीच व्यवस्थापन गर्नैपर्ने नेताको लामो सूची बोकेर बसेका ओली आफूसहित पदाधिकारी सर्वसम्मत ल्याउन ‘कसलाई बोक्ने, कसलाई छोड्ने’ द्विविधामा रहेका छन् ।
पदाधिकारीका आकांक्षीबीच मंसिर ९ गते साँझसम्ममा मोटामोटी सहमति गर्ने बताएका ओली महाधिवेशन लम्ब्याएर भए पनि सहमति गर्ने पक्षमा रहेका छन् ।
यसका लागि उनले बहुमत प्रतिनिधिको दम्भलाई अस्त्रका रुपमा प्रयोग गरेर अनुकूल नेताको व्यवस्थापन गर्ने डरमा देखिन्छन् १० बुँदेबाट आएका र माओवादी खेमाबाट आएका नेताहरु । यीसँगै विगतमा ओली अर्थात् संस्थापन पक्षमा रहेका नेताहरु समेत सहमतिको नाममा पदाधिकारी गुमाउने त्रासमा रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।