काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अब महासचिव को बन्ला भन्ने चासो बढ्दै गएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले संकेत नगरेका कारण महासचिव पदका आकांक्षी नेता खुलिसकेका छैनन् तर ४ नेताले भित्रभित्रै महासचिव पदका लागि गृहकार्य गरिरहेका छन् ।
अध्यक्षपछि दोस्रो कार्यकारी र शक्तिशाली पद मानिन्छ महासचिव । उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल महासचिव पदमा मुख्य दाबेदार मानिएका छन् ।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, सचिव पृथ्वीसुब्बा गुरुङ र उपमहासचिव घनश्याम भुसाल समेत आकांक्षी रहेका बताइन्छ ।
उम्मेदवारी घोषणा नगरे पनि आकांक्षीहरुले आफू निकटमार्फत प्रचार थालेका छन् । स्थायी समिति सदस्य पोखरेलनिकट कार्यकर्ताले सामाजिक सञ्जालमार्फत पोखरेलका पक्षमा ‘लबिङ’ सुरू गरेका छन् । पौडेलनिकट नेता/कार्यकर्ता पनि सामाजिक सञ्जालमा उनका पक्षमा प्रचार गरिरहेका छन् ।
राजनीतिक वृत्तले अब बन्ने महासचिवलाई अध्यक्ष ओलीको उत्तराधिकारीका रुपमा समेत हेर्ने गरिएको छ । त्यही भएर ओलीको समर्थनले मात्र आकांक्षीमध्ये जो कोही पनि महासचिव बन्ने पक्कापक्की रहेको छ ।
पौडेल र पोखरेल दुबै जना लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छन् । पौडेल रुपन्देहीका हुन् भने पोखरेल दाङका । उपमहासचिव पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपाका महासचिव बनेका थिए ।
सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि पौडेल एमालेको साविककै पद उपमहासचिवको जिम्मेवारीमा फर्किएका छन् ।
उनी नेता, कार्यकर्ताबीच समन्वयकारी भूमिकामा अब्बल मानिन्छन् । पौडेलले नेकपा हुँदा तत्कालीन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समन्वयकारी भूमिका निर्वाह गरेका थिए । पार्टी एकीकरणमा उनको सक्रिय सहभागिता थियो । संगठन विभाग प्रमुख रहेका पौडेलको पार्टीमा राम्रै पकड मानिन्छ ।
स्थायी समिति सदस्य पोखरेल एमालेको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याताका रुपमा चिनिन्छन् । वैचारिक नेताका रुपमा चिनिने पोखरेललाई पछिल्लो समय ओलीले साथमा लिएर कार्यक्रममा हिँड्ने गरेका छन् । धनकुटाको छिन्ताङदेखि नेपालगञ्जसम्मका सभामा ओलीले पोखरेललाई नै साथमा लिएका छन् ।
ओलीले असोज १५–१७ गतेसम्म गोदावरीमा भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन वाचन गर्न पनि पोखरेललाई नै दिएका थिए । पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका थिए ।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि महासचिवका दाबेदार हुन् । नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग ६ मतले मात्रै महासचिव पदमा पराजित भएका थिए । पदाधिकारीसम्म सर्वसम्मत हुनुपर्ने पाण्डेले बताए । नवौं महाधिवेशनमा झिनो मतले पराजित भएका कारण यसपटक आफूलाई महासचिव बनाउनुपर्ने उनको तर्क रहेको छ ।
‘महासचिवमा झिनो मतले हारेको हुँ,’ उनी भन्छन्, ‘त्योभन्दा तल जाने कुरा भएन ।’
विगतमा माधवकुमार नेपालनिकट पाण्डे १० बुँदे सहमतिपछि एमालेमै सक्रिय रहेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक छन् । आफू उम्मेदवारीभन्दा पनि महाधिवेशन व्यवस्थापनमा व्यस्त भएको उनले बतए ।
चितवन पाण्डेको गृहजिल्ला हो भने रामबहादुर थापा संयोजक भए पनि पाण्डे नै सबैभन्दा धेरै व्यवस्थापन सक्रिय देखिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका नेता हुन् सचिव पृथ्वीसुब्बा गुरुङ । सचिव भइसकेका कारण आफू महासचिवको स्वतः दावेदार भएको गुरुङले बताए । ‘सचिव भइसकेकाले महासचिव बन्ने चाहना छ,’ उनले भने, ‘तर पार्टी अध्यक्षको सहमतिमा मात्र अघि बढ्ने हो ।’
१०बुँदे सहमति गरेर एमालेमै सक्रिय उपमहासचिव भुसाललाई महासचिव बनाउनुपर्ने भन्दै उनी पक्षधर नेता लागिपरेका छन् । भुसालले भने मुख खोलिसकेका छैनन् । जबजलाई समयानुकूल सुधार गर्दैै जानुपर्ने धारणा भुसालले राख्दै आएका छन् ।
सालिन र भद्र स्वभाव भएका नेता भनेर चिनिने पार्टी सचिव प्रदीप ज्ञवालीलाई महासचिव बनाउनुपर्ने भन्दै एकथरि दोस्रो तहका नेता सक्रिय छन् तर महासचिव नभए ज्ञवाली उपमहासचिव बन्ने नेताहरुले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।