काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस पर्ने देखिएको छ ।
एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था रहेको छ तर आकांक्षी धेरै हुँदा नेताहरुको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको छ ।
वर्तमान अध्यक्ष केपी ओलीले दशौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन् तर वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी रहेका छन् तर हालसम्म आकांक्षी कसैले पनि उम्मेदवारीको औपचारिक घोषणा गरिसकेका छैनन् ।
वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन् । वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरु धेरै भएका कारण मिलाउन समस्या भएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ ।
उपमहासचिव घनश्याम भुसाल लगायतका नेता कुन पदमा निर्वाचनमा लड्ने भन्ने द्विविधामा रहेका छन् तर संसदीय दलका उपनेता सुवास नेम्वाङले केपी ओली (अध्यक्ष) पछिको पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।
महासचिव ईश्वर पोखरेल विधानअनुसार महासचिवमा दोहोरिन नमिल्ने भएपछि उनले वरिष्ठ उपाध्यक्षमा दावी गरिरहेका छन् । भीम रावल, अष्टलक्ष्मी शाक्यले समेत वरिष्ठ उपाध्यक्ष बन्ने चाहना राखेका छन् ।
माओवादीबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ले समेत वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन् ।
दशौं महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्य भइरहेकाले हालसम्म कसैले पनि खुलेर उम्मेदवारी घोषणा गरेका छैनन् । वरिष्ठ उपाध्यक्ष १ जना मात्र हुने भएकाले सो पदका बाँकी आकांक्षीलाई उपाध्यक्षमा समेट्नुपर्ने बाध्यता रहेको छ ।
रावल, शाक्य, नेम्वाङ, थापा, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, रघुजी पन्त, युवराज ज्ञवाली समेत त्यहीँ समेटिनुपर्नेछ । राधा ज्ञवालीले समेत उपाध्यक्षका लागि तयारी गरेकी छन् । नेम्वाङ, थापा र ज्ञवाली नयाँ अनुहार रहेका छन् ।
अध्यक्षपछिको दोस्रो पदमा उम्मेदवारी दिने संकेत गरेका नेम्वाङले भने, ‘संसदीय दलमा म ओलीपछिकै पदमा छु । पार्टीमा पनि मेरो यस्तै उपस्थिति रहोस् भन्ने साथीहरुको चाहना छ, सल्लाह गर्दैछु ।’
महासचिवका आकांक्षी समेत धेरै छन्। विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल महासचिवका दाबेदार देखिएका छन् । पौडेल एमाले–माओवादी एकीकरणका बेला महासचिव भइसकेकाले स्वाभाविक दाबेदार रहेका छन् ।
नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार भई ईश्वरसँग थोरै मतले पराजित पाण्डेले यसपटक पनि सोही पदमा दाबी गरिरहेका छन् ।
पाण्डेले महासचिवभन्दा तल बसेर काम गर्न आफूलाई असजिलो हुने बताए । ‘पहिला पनि महासचिवमा थोरै मतले पराजित भएको हुँ, अहिले मेरो दाबी महासचिवका लागि स्वाभाविक हो तर यो महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको दिशामा उन्मुख भएकाले के हुन्छ भन्ने अवस्था छैन,’ स्थायी कमिटी सदस्य पाण्डेले भने ।
नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित शंकरले यसपटक महासचिवमा आकांक्षा राखेका छन् । हालका उपमहासचिव भुसाल दशौं महाधिवेशनबाट महासचिव बन्न चाहन्छन् तर उनी महासचिव बन्ने सम्भावना कम रहेको एमाले वृत्तमा चर्चा रहेको छ । महासचिवका प्रमुख दाबेदार पौडेलले यो विषयमा अहिले केही पनि नबोल्ने बताइसकेका छन् ।
पौडेलले केही छलफल नभएकाले अहिले नै उम्मेदवारी घोषणा गर्न हतार हुने बताए । ‘आन्तरिक छलफलपछि सबै विषय निर्धारण हुनेछ,’ पौडेलले भने । महासचिवमा आकांक्षा राखेकामध्ये केहीलाई उपाध्यक्षमा समेट्नुपर्ने र केहीलाई उपमहासचिवमा राख्नुपर्ने भएकाले समेत समस्या खडा भएको एमाले नेताहरुले बताएका छन् ।
पदाधिकारीमा पर्ने उपमहासचिव पद एउटा मात्र छ तर आकांक्षी धेरै देखिएका छन् । हाल पौडेल र भुसाल गरी २ उपमहासचिव छन् । गत असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिव १ जना मात्रै हुने व्यवस्था गरेको छ ।
अहिले उपमहासचिवमा प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराईले समेत आकांक्षा देखाएका छन् तर उनीहरुको बढुवा हुने सम्भावना निकै कम रहेको छ ।
सचिव पदका आकांक्षी पनि धेरै छन् । विधानअनुसार ७ जना सचिव हुन्छन् । नयाँ अनुहारले सचिवमा दाबी गरिरहेका छन् । विष्णु रिमाल, गोकुल बाँस्कोटा, खगराज अधिकारी, महेश बस्नेत, किरण गुरुङ, शेरधन राई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा सचिवका लागि दाबी गरिरहेका नयाँ अनुहार रहेका छन् ।
माओवादीबाट एमालेमा आएका नेताहरुलाई पनि पदाधिकारीमा समेट्नुपर्ने भएकाले थप समस्या निम्तिएको देखिएको छ । माओवादीबाट एमालेमा आएका लेखराज भट्ट र टोपबहादुर रायमाझीले समेत सचिवको दाबी गरिरहेका छन् । माओवादीबाट एमालेमा आएका र माधव नेपाललाई छाडेर एमालेमा बसेका प्रभावशाली नेताहरुलाई पनि पदाधिकारीमा मिलाएर लैजानुपर्ने दबाब नेतृत्वलाई रहेको छ ।
अध्यक्ष बाहेकका पदाधिकारीमा आकांक्षा राख्ने नेताहरु धेरै भएकाले उनीहरुको व्यवस्थापनलाई ध्यानमा राखेर महाधिवेशनको हलबाट विधान संशोधन गर्नुपर्ने सुझाव आएको छ । एमालेका धेरै नेताले दशौं महाधिवेशन सर्वसम्मत हुने बताइरहेका छन् ।
उनीहरुले कम्तीमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत भएपछि केन्द्रीय सदस्यमा निर्वाचन भए पनि फरक नपर्ने बताएका छन् । एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरेका छन् । ‘पार्टीलाई संकट परेका बेला सर्वसम्मत नेतृत्व चयन भए राम्रो सन्देश जान्थ्यो,’ सुब्बाले भनेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।