काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिबेला १० औं महाधिवेशनको तयारी गर्दैछ ।
मंसिर १०–१२ गतेसम्म चितवनमा हुने महाधिवेशनलाई एमालेले शक्ति देखाउने अवसरका रूपमा समेत प्रयोग गर्ने भएको छ ।
महाधिवेशन उद्घाटनअघि ७ स्थानबाट जुलुस निकाल्न विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गरेर फरक–फरक ठाउँबाट उद्घाटनस्थलमा ल्याउने एमालेको तयारी छ ।
महाधिवेशन उद्घाटन कार्यक्रममा ५ लाखभन्दा बढी जनसहभागिता गराउने एमालेले बताउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै १ लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी रहेको छ ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरू भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुने प्रबन्ध मिलाइएको छ । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था समेत गरिएको छ ।
मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । आँटपारीमा रोकिएका सवारीलाई नेपाल ट्रस्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने जनाइएको छ ।
माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिम चोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको एमालेले जनाएको छ । सवारीसाधनलाई भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिँदैछ ।
भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराउने तयारी छ ।
भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीलाई बेलचोकबाट जुलुसमा सहभागी गराइनेछ ।
कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागीलाई विशाल चोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको अध्यक्ष रावलले बताइन् । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैंडाकोटबाट जुलुससहित सभामा सहभागी गराउने योजना छ । पश्चिमबाट आउने सवारीसाधनलाई गैंडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको जनाइएको छ ।
एमाले महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने जनाइएको छ । एमालेको १०औं महाधिवेशनबाट २२५ सदस्यीय नयाँ नेतृत्व चयन हुनेछ ।
महाधिवेशनमा देशभरबाट १ हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधि बस्नका लागि सौराहास्थित क्षेत्रीय होटल संघसँग ३ हजार ५०० जना अट्ने कोठा सम्झौता गरिएको छ ।
सौराहामा ६ हजार ५०० जना अट्ने क्षमता रहेको छ । अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको संघले जानकारी दिएको छ । प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरु हुने अनुमान एमालेले गरेको छ । एमाले महाधिवेशनमा प्रतिनिधि नभए पनि देशभरका कार्यकर्ता सहभागी हुने अनुमान छ ।
एमालेले महाधिवेशनमा शक्ति देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा प्रभाव देखाउन खोजेको चर्चा समेत राजनीतिक वृत्तमा छ । तर एमालेले देखाएको शक्तिले आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई कति फाइदा होला ? त्यो भविष्यले नै बताउने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।