काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनका लागि ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट कार्य सकिएको छ भने १९ जिल्लामा प्रतिनिधि छनोटमा विवाद देखिएको छ ।
विवादकै कारण १९ जिल्लामा आईतवार साँझसम्ममा प्रतिनिधि छनोट हुन सकेका छैनन् ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ५८ जिल्लाका साथै जनसंगठन, विभाग तथा विशेष कमिटी तर्फका सबै प्रतिनिधि सहमतिमै चयन भएका जानकारी दिए । प्रतिनिधि छनोट हुन बाँकी जिल्लाको समेत सोमवारसम्ममा सकिने भट्टराईले बताएका छन् ।
विभिन्न ठाउँबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोटका सूचना आइरहेका र कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सदस्यता विवाद र प्रतिनिधि हुने नेताको संख्या बढी भएकाले कतिपय ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनोट भइरहेको हुँदा ढिलाइ भएको छ । एमालेले शनिवार देशैभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट सुरू गरेको छ ।
उदयपुरमा १, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका १/१ क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधि चयन भएका भएको छ । केही जिल्लामा सदस्यता विवाद समेत देखिएको जनाइएको छ ।
१ नम्बर प्रदेशको पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर जिल्लामा प्रतिनिधि छनोट भइसकेका छ ।
उपत्यका विशेष कमिटीतर्फ पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशको गोरखा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, कपिलवस्तु, दाङ, प्युठान, अर्घाखाँची, पाल्पा, रुपन्देही, रुकुम, रोल्पा, बाँके र बर्दिया जिल्लामा पनि प्रतिनिधि छनोट भइसकेको छ ।
कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, मुगु, कालिकोट, जुम्ला, र सुर्खेत, सुदूरपश्चिम प्रदेशको बझाङ, दार्चुला, बैतडी र डडेल्धुरामा प्रतिनिधि चयन कार्य सम्पन्न भएको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया अझै जारी नै रहेको सचिव भट्टराईले बताएका छन् ।
नेकपा केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीका साथै पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेका जनाइएको छ ।
कार्यालय सचिव तामाङले भने, ‘देशैभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रमअनुसार अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि छनोट भएका सूचना आएका छन् । केही ठाउँमा निर्वाचनबाट पनि प्रतिनिधि छनोट भएका छन् ।’
एमालेको १०औं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुँदैछन् । २६३ जना पदेन प्रतिनिधि रहेका छन् । १ हजार ७३६ प्रतिनिधि विभिन्न ठाउँबाट निर्वाचित भएर आउनुपर्ने तामाङले बताएका छन् । केन्द्रीय कमिटीका सबै र अनुशासन आयोगबाहेक अन्य ठाउँमा निर्वाचित हुनुपर्ने हुन्छ ।
आगामी मंसिर १०, ११ र १२ गते चितवनमा महाधिवेशन हँुदैछ । ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारी सहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।
केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २१० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको समेत चयन गर्नेछ । एकतिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान रहेको छ ।
एमालेले मंसिर १० गते नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र गर्ने तयारी गरेको छ । मंसिर ११ गते मनोनयन र प्रतिनिधिलाई ईभीएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मूल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।