काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि छनोटका लागि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भएको निर्वाचनमा पूर्व मन्त्री नै पराजित भएका छन् ।
झापा जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रबाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा प्रदेश (२) बाट सांसद पदमा जितेका हिरा थापा नै पराजित भएका छन् । थापा १ नम्बर प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत हुन् ।
पूर्व मन्त्री थापालाई शिवसताक्षी नगरपालिका–११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले पराजित गरेका छन् । पूर्व मन्त्री समेत रहेका सांसदलाई वडाध्यक्षले नै हराइदिएका छन् । वडाध्यक्ष श्रेष्ठभन्दा ७३ मत कम ल्याएर थापा पराजित भएका छन् ।
यस्तै, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल समेत महाधिवेशन प्रतिनिधिमा हारेकी छन् ।
आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ४ नम्बर क्षेत्रबाट कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले खुलातर्फको प्रतिनिधिमा सर्वाधिक मत ल्याएका छन् । पोखरेलले १ हजार ७०४ मत पाएका छन् ।
नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनबहादुर थेवेले १ हजार ५३२, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १ हजार ४६२ मत पाएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।
एमालेको झापा जिल्ला सचिवालय सदस्य राधाकृष्ण खनालले १ हजार ४००, खेमनाथ मिश्रले १ हजार ३४० र भैरवकुमार श्रेष्ठले १ हजार ३०२ मत पाएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।
महिलातर्फ सर्वाधिक मत ल्याएर झापा गाउँपालिकाकी अमृता राई प्रतिनिधि बनेकी छन् । राईले २ हजार ३१४ मत ल्याएकी छन् । राईले कूल खसेको मतको ७१.०९ प्रतिशत मत ल्याएकी जनाइएको छ ।
यस्तै, कन्काई नगरपालिकाकी चम्पादेवी खनालले २ हजार २११ र शिवसताक्षीकी इन्दिरा बस्नेत ‘भरत’ले १ हजार ९३० मत पाएर महाधिवेशन प्रतिनिधि बनेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।