काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद लामो समयदेखि जारी छ । विवाद समाधानका लागि १० बुँदे सहमति गरिए पनि विवाद अन्त्य हुन सकेको छैन ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एमालेभित्रको विवाद सतहमा देखिएको छ । एमालेभित्रको विवाद बढ्दै जाँदा कांग्रेसलाई राजनीतिक रूपमा लाभ हुने विश्लेषण समेत भइरहेको छ ।
नेकपा एमालेमा निर्वाचित जिल्ला अध्यक्ष डा. तारा जोशी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धक्का दिँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा लागेका छन् । पार्टीमा भएको १० बुँदे सहमतिअनुसार आफू डडेल्धुरा जिल्ला अध्यक्ष हुनुपर्ने माग राख्दै आएका डा. जोशीको सुनुवाइ नभएपनि उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्पर्कमा पुगेका हुन् । अध्यक्ष केपी ओलीले डडेल्धुरामा प्रकाश साउँदलाई अध्यक्ष बनाएका छन् भने निर्वाचित अध्यक्षलाई बाइपास गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधवार डडेल्धुरामा कार्यक्रम गरेर डा. जोशीलाई पार्टीमा प्रवेश गराउने तयारी गरेका जनाइएको छ । ओलीले एमाले जिल्ला अध्यक्षको जिम्मेवारी प्रकाश साउँदलाई दिएपछि डा. जोशी असन्तुष्ट रहेका थिए ।
निर्वाचित अध्यक्ष डा. जोशीको डडेल्धुरा जिल्लामा बलियो प्रभाव रहेको जानकारीहरू बताउँछन् । उसैपनि डडेल्धुरामा एमाले कमजोर रहेका बेला डा. जोशी समाजवादीतिर लाग्ने भएपछि एमालेलाई ठूलो धक्का लाग्ने निश्चित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।