काठमाडौं – सर्वाेच्च अदालतमा देखिएको विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ हुने गरी सबै न्यायाधीशले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।
ओलीकै भाषाशैली प्रयोग गरेर बुधबार दिउँसो नेकपा एमाले निकट कानून व्यवसायीको संगठन प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) का कार्यबाहक अध्यक्ष रमा श्रेष्ठको नाममा विज्ञप्ति जारी भयो । जसमा संवैधानिक प्रक्रियाअनुसार न्यायाधीशमाथि छानबिन हुनुपर्ने र न्यायाधीशले इजलास बहिष्कार गर्न नहुने उल्लेख थियो ।
तर ती उपाध्यक्ष महिलाको विज्ञप्तिले एमालेका वकिलको संगठनभित्र लफडा मच्चिएको छ । श्रेष्ठको विज्ञप्तिमा लेखिएको थियो, ‘न्यायिक उपचार प्रदान गर्न संविधानले प्रदान गरेको सम्मानित कार्य र दायित्वबाट सर्वोच्च अदालतका माननीय न्यायायाधीश पन्छिन सर्वथा मिल्दैन । न्यायिक मूल्य मान्यता र लोकतन्त्रका आधारभूत मूल्य मान्यताभन्दा बाहिर गई भए गरेका यस्तो कार्य तत्काल बन्द गरी सबै प्रकारका मुद्दाहरूको सुनुवाइ अविलम्ब गर्न आह्वान गर्दछौं ।’
कार्यबाहक अध्यक्ष भनेर श्रेष्ठले विज्ञप्ति निकाले पनि त्यो गलत रहेको पाइएको छ । संगठनका अध्यक्ष रुद्रप्रसाद नेपालले बुधवार साँझ त्यो विज्ञप्तिको खण्डन गर्दै अर्काे विज्ञप्ति निकालेका छन् ।
बुधवार साँझ विज्ञप्ति निकालेर नेपालले श्रेष्ठले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारिएको छ । नेपालको विज्ञप्तिमा उल्लेख छ, ‘यस संस्थाको अध्यक्षको जिम्मेवारीमा म रहिआएको अवस्थामा संस्थागत निर्णय विना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको व्यहोरा जानकारी गराउँछु ।’
नेपालले विज्ञप्तिमार्फत प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा संगठनको समर्थन रहेको जनाएका छन् । यसरी एमालेका वकिलको संगठनभित्रै विवाद देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।