काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा आगामी निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ ।
कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।
नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका बताइन्छ ।
‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरु समेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताएका छन् ।
पौडेलले आईतवार जनकपुरमा आयोजित नेता कार्यकर्तासँगको भेटमा आगामी निर्वाचनमा तालमेल गर्ने अवस्था नरहेको बताए ।
आईतवार नै एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा देशभर नभई केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताए । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् ।
‘चुनावी तालमेलका विषयमा पार्टीभित्र एकमत छैन, फरक–फरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावना त नहोला, केही स्थानमा हुनसक्छ,’ सहमहामन्त्री महतले भने ।
कांग्रेसका युवा नेता गगनकुमार थापाले समेत केही दिनअघि धादिङ र चितवनमा आयोजित कार्यक्रममा कांग्रेस कोहीसँग तालमेल गरेर नभई एक्लै आफ्नै तागतले निर्वाचनमा होमिने बताएका छन् ।
नेता थापाले आगामी निर्वाचनमा ‘कुन निर्वाचन चिह्नमा मत हाल्ने’ भनेर अल्मलिन पर्ने अवस्था आउन नदिने भन्दै आफ्नै दलको चिह्नमा मतदाताले मतदान गर्न पाउने बताएका छन् ।
हाल कांग्रेससहित, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले केन्द्रीय सत्ता सहयात्रामा गठबन्धन गर्दै आएका छन् । यी दलहरुबीच नै आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल हुनसक्ने देखिएको छ ।
‘शीर्ष नेताहरु उठ्ने निर्वाचन क्षेत्रमा आवश्यकता हेरेर तालमेल हुनसक्छ, बाँकी स्थानमा यसपटक तालमेल गर्नुहुन्न भन्ने विषय पार्टीभित्र उठिरहेको छ, यसपटकको तालमेल पहिलेजस्तो हुन्न,’ कांग्रेस सभापतिनिकट अर्का एक नेताले भनेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।