काठमाडौं - केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा छन् ।
उनले त्यहाँ चुनाव लक्षित कार्यक्रम बनाएर घरदैलो अभियान सुरु गरेका छन् । आफ्ना मतदातालाई आश्वस्त बनाउन उनले प्रयास गरिरहेका छन् ।
प्रचण्ड चितवनमै रहेका बेला एमाले अध्यक्ष केपी ओली पनि पार्टी कामको सिलसिलामा भरतपुर जाँदैछन् ।
प्रचण्डलाई चुनौती दिने उद्देश्यअनुरुप कार्यक्रम बनाएर ओली भरतपुर जान लागेका हुन् । सोही कारण एमाले भरतपुर महानगर कमिटीको अधिवेशन कात्तिक १५ गते राखिएको छ ।
अधिवेशनको पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम भरतपुरको मिड टाउन रिसोर्टमा हुने एमाले भरतपुर महानगर कमिटीले जनाएको छ ।
सोही कार्यक्रममा ओलीले प्रचण्डविरुद्ध भण्डाफोर अभियान गर्ने भएका छन् । रामबहादुर थापा बादलकै डिजाइनमा ओलीलाई भरतपुर बोलाइएको स्रोतले बतायो ।
भरतपुर महानगरपालिकाका २७ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । दुई वडाको नेतृत्वमा सर्वसम्मत हुन नसकेपछि अधिवेशन सारिएको हो । भरतपुरका केही वडा प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।
भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाल छिन् । राजनीतिक परिस्थिति ठ्याक्कै पाँच वर्षअघिकै जस्तो देखिँदै छ । त्यसबेला भरतपुर महानगरपालिकामा रेणु दाहालले एमालेका देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् ।
अब फेरि रेणु र देवीबीच प्रतिस्पर्धा हुने अनुमान धेरैले गरेका छन् । तर, यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठाउने करिब करिब निश्चित रहेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।