काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र नै लेखेर सनसनी मच्चाएका छन् ।
कोरोना भाइरस संक्रमण भएका कारण उपमहासचिव भुसाल आज बिहीवारको स्थायी कमिटी बैठकमा सहभागी भएनन् ।
कोरोना कारण बैठकमा भौतिक उपस्थिति जनाउन नपाएका नेता भुसालले ओलीलाई पत्र नै लेखेर असन्तुष्टि व्यक्त गरेका छन् ।
पत्रमार्फत भुसालले पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको भन्दै अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
पत्रमा उल्लेख छ, ‘हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकी (डीएनए) मा विकृति उत्पन्न भयो भने त्यसले पिँढी दर पिँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ । तसर्थ कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने १० बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस् ।’
उपमहासचिव भुसालको पत्रमा थप उल्लेख छ, ‘सहमति र केन्द्रीय कमिटीले गरेको निर्णय समेत लागू नहुने, बरु लागू नहुनु नै ठीक छ जस्तो गरी हामीले सार्वजनिक रूपले बोल्ने कुराले तत्कालका लागि कसैलाई निजी वा समूहगत फाइदा हुनसक्ला तर त्यसले समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्दै जान्छ । अरु कैयन् घटनामा पनि हामीले विश्वसनीयता प्रस्ट गर्न सकेका छैनौं । पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्यआधारित आन्तरिक लोकतन्त्र र संघबद्धताजस्ता सत्वले बनेको नेकपा एमालेको राजनीतिक–सांस्कृतिक आनुवंशिकीमा आक्रमण गर्छन् ।’
एमाले उपमहासचिव भुसालले हालै सम्पन्न भएको विधान महाधिवेशनमा नास्ता राम्रो भएपनि अरु धेरै कमजोरी भएका बताएका छन् । पत्रमा उल्लेख छ, ‘हामीले विधान महाधिवेशनमा प्रतिनिधिको संख्या, उनीहरुको खाना तथा नास्ता र हलको व्यवस्था राम्रो रहेको मूल्यांकन गरेका छौं । खासगरी त्यति छोटो समय सीमाभित्र महाधिवेशनको आयोजना त्यस व्यवस्थापकीय दक्षताका साथ गरिनुको महत्त्व स्वतः स्थापित भएको छ । अर्कोतर्फ यसका केही गम्भीर कमजोरी पनि भएका छन् । हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।