काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा भइरहेका अधिवेशन अन्तर्गत रुपन्देही जिल्लाको सिद्वार्थनगर नगर कमिटीमा भएको निर्वाचनमा उपमहासचिव विष्णु पौडेल पक्षसँग उपमहासचिव घनश्याम भुसाल गुट पराजित भएको छ ।
सिद्धार्थनगर नगर कमिटीको अध्यक्षमा विष्णु पौडेल पक्षका चक्रबहादुर थापा विजयी भएका छन् भने घनश्याम भुसाल पक्षका थानेश्वर पौडेल पराजित भएका छन् ।
थापाले भुसाल गुटका पौडेललाई १०४ मत अन्तरले हराएका छन् । २३६ मतदाता रहेका सिद्धार्थनगर नगरपालिकामा २२३ मत खसेको जनाइएको छ । जसमध्ये थापाले १६१ मत र पौडेलले ५७ मत पाएका छन् ।
उपाध्यक्ष पदमा अर्जुनकुमार गिरी विजयी भएका छन् । गिरीले १८७ मत ल्याउँदा उनका प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत मात्र पाएकी छन् ।
सचिव पदमा उद्योग व्यापार संगठनका निर्वतमान अध्यक्ष रहेका नारायणप्रसाद भण्डारी र घनश्याम भुसाल कृषिमन्त्री हुँदा स्वकीय सचिव रहेका मनोजकुमार रिजालबीच प्रतिस्पर्धा भयो । चुनावमा सचिव पदमा नारायण प्रसाद भण्डारीले मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरेका छन् ।
अधिवेशनमा नेता पौडेल र भुसाल गुटबीच आपसी सहमति हुन नसकेपछि ३ पदका लागि निर्वाचन भएको हो । जसमध्ये सबै पदमा विष्णु पौडेल गुटले जितेको छ ।
नगर कमिटीका अन्य पदमा सर्वसम्मतिमै निर्विरोध भएको छ । समितिको उपसचिवमा कुमार गुरुङ र माया कँडेल निर्वाचित भएका जनाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशैभर सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएपछि उपमहासचिवद्वय पौडेल र भुसालकै क्षेत्रमा निर्वाचन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।