काठमाडौं - एमालेलाई आज धक्का लाग्दैछ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा आज विश्वासको मत लिन प्रस्ताव पेस गरेकी थिइन् । सोहीअनुसार आज विश्वासको मतमाथि मत विभाजन हुँदैछ ।
एक सय नौ सदस्यीय बागमती प्रदेश सभामा एमाले स्पष्ट अल्पमतमा छ । ५६ जना सांसदका साथ प्रदेश सरकारको सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यलाई एमाले विभाजनपछि भने ४३ जना सांसदको मात्र समर्थन छ । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिएको हो ।
प्रदेश सरकार टिकाउन वा गठनका लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । प्रदेशसभामा २३ माओवादी केन्द्र, २२ नेपाली कांग्रेस, तीन विवेकशील साझा, दुई नेमकिपा, दुई राप्रपा र एकजना जसपाका सांसद छन् । बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ ।
गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, कांग्रेस र जसपाका गरी कुल ५८ जना सांसद छन् । जुन सरकार गठनका लागि स्पष्ट बहुमत हो । मुख्यमन्त्रीकै लागि माधवकुमार नेपाल छाडेर केपी ओलीलाई रोजेकी शाक्य तीन महिनामै मन्त्रीबाट हट्न लागेकी हुन् ।
बागमती प्रदेशमा एकीकृत समाजवादी र कांग्रेसबीच आधा आधा कार्यकाल मुख्यमन्त्री लिने सहमति भएको छ । जसअनुसार राजेन्द्र पाण्डेपछि कांग्रेस नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।