आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले महाधिवेशन व्यवस्थापनको मूल नेता बने बादल, यी हुन् ८ निर्णय (पूर्णपाठ)

एमाले महाधिवेशन व्यवस्थापनको मूल नेता बने बादल, यी हुन् ८ निर्णय (पूर्णपाठ)

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ५ २०७८

  • 3.5K
    SHARES

  • एमाले महाधिवेशन व्यवस्थापनको मूल नेता बने बादल, यी हुन् ८ निर्णय (पूर्णपाठ)

    काठमाडौं – पार्टीको दशौं महाधिवेशन व्यवस्थापनका लागि नेकपा एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको छ ।

    शुक्रवारको स्थायी कमिटी बैठकले व्यवस्थापन कमिटी गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

    कमिटीको सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिव विष्णु रिमाल रहेका छन् भने सदस्यमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन् । कमिटीमा १ सदस्य पछि मनोनयन गरिने जनाइएको छ ।

    पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आगामी २०७८ मंसिर १०–१२ गतेसम्म चितवनमा आयोजना हुने जनाइएको छ ।

    बैठकले राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयन गर्ने प्रयोजनका लागि प्रक्रियामा सहभागी हुन २०७७ चैत मसान्तभित्र सदस्यता प्राप्त गरेका पार्टी सदस्यहरू योग्य हुने निर्णय गरेको छ ।

    यस्ता छन् निर्णयहरू –

    प्रेस वक्तव्य
     
    नेकपा (एमाले) स्थायी कमिटीको ११४ औं बैठक २०७८ कात्तिक ४ र ५ गते अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु यस वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ–

    १.  दसौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा– 

    क)  पार्टीको  दसौं राष्ट्रिय महाधिवेशन आगामी २०७८ मङ्सिर १०– १२ मा चितवनमा आयोजना गरिनेछ ।
    ख)  महाधिवेशनको व्यवस्थापनका लागि पार्टी स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । कमिटीमा सहसंयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल तथा सदस्यहरुमा – कमरेडहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहनुभएको छ । एक सदस्य पछि मनोनयन गरिने छ ।
    ग)  राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयन गर्ने प्रयोजनका लागि प्रक्रियामा सहभागी हुन २०७७ साल चैत मसान्तभित्र सदस्यता प्राप्त गरेका पार्टी सदस्यहरु योग्य हुनेछन् ।
    घ)  राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । यस मेसिनको प्रयोगका लागि महाधिवेशन प्रतिनिधिहरुलाई विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ । यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई अनुरोध गरिएको छ  ।
    ङ)  राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायत विषयमा आवश्यक निर्णय लिन आगामी कात्तिक ११ गते स्थायी कमिटीको तथा १२ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरिनेछ ।
    च)  राष्ट्रिय महाधिवेशनमा विदेशी भाइचारा तथा मित्र पार्टीहरु तथा मुलुकभित्रका राष्ट्रिय राजनीतिक दलहरुलाई आमन्त्रण गर्ने निर्णय गरिएको छ ।

    २.  बैठकले गतः असोज १५–१७ मा गोदावरीमा सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशन भव्य तथा ऐतिहासिक रुपले सफल भएको समीक्षा गरेको छ । विचार र नीतिहरुमा मतैक्यता कायम गर्दै महाधिवेशनले पार्टीपङ्क्तिमा भावनात्मक एकता र आत्मविश्वासको बलियो सन्देश सम्प्रेषित गर्न सफल रहेको निष्कर्ष निकाल्दै महाधिवेशनलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

    ३.  बैठकले दस बुँदे प्रस्ताव आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । तर केही स्थानमा कार्यान्वयन बाँकी रहेको कुरालाई ध्यानमा राख्दै केन्द्रीय कमिटीको आगामी बैठकसम्म बाँकी स्थानमा पनि यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय गरेको छ । बैठकले कार्यविभाजन हुन बाँकी कमरेडहरुको कार्यविभाजन आगामी बैठकबाट गर्ने निर्णय गरेको छ ।

    ४.  बैठकले पार्टी एकताको पक्षमा उभिनुभएका पूर्व प्रदेशसभा सदस्यहरु कुन्दन कुशवाह (रौतहट) र मोहमद समिर (बारा) लाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।

    ५.   बैठकले असोज अन्तिमदेखि परेको अविरल वर्षा र यसका कारण सिर्जित बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढी पहिरोका कारण हालसम्म सयभन्दा बढीको ज्यान गएको छ । सयौं परिवार घरबारबिहीन हुनुभएको छ भने कैयौं व्यक्ति वेपत्ता हुनुभएको छ । हावाहुरीसँगै आएको ठूलो वर्षा र डुबानले देशका विभिन्न भूभागमा पाकेको धानबाली सखाप भएको छ । कृषि माथि आश्रित लाखौं किसान परिवारमाथि ठूलो बज्रपात भएको  छ । उच्च पहाडी क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । कतिपय पर्यटकहरु सङ्कटमा परेका छन् । देशका विभिन्न ठाउँमा सडक यातायात अवरुद्ध भएको छ । बिजुलीलगायत अत्यावश्यक सेवामा बाधा पुगेको छ । दशैंको बीचमा आइलागेको यस प्राकृतिक विपत्तिले हजारौं परिवारलाई पीडामा डुबाइदिएको छ ।
     नेकपा (एमाले) अप्रत्यासित रुपमा आएको यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरुको स्वास्थ्यलाभ र वेपत्ताहरु सकुशल उद्धारको कामना गर्दछ । बाढी र वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसान दाजुभाइहरुको पीडाप्रति सहानुभूति व्यक्त गर्दछ । वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असैह्य पीडामा परेका किसान परिवारलाई सम्वोधन गरी तुरुन्त राहत प्याकेज र क्षतिपूर्तिको घोषणा गर्न सरकारसँग माग गर्दछ । ध्वस्त पूर्वाधारहरुको पुनर्निर्माण गर्दै अवरुद्ध यातायात सेवा, विद्युत, सञ्चारलगायत सेवाहरु तत्काल सञ्चालन गर्न ध्यानाकर्षण गर्दछ । घरबार गुमाएकाहरुका लागि तत्काल पुनस्र्थापना र आवास पुनर्निर्माणका लागि माग गर्दछ । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरुले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरुको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछ । पार्टीका सबै कमिटी र सदस्यहरु, जनप्रतिनिधिहरु एवं युवा–विद्यार्थीहरुलाई बाढी पीडितहरुको उद्धार र राहतका काममा स्थानीय प्रशासनसँग आवश्यक समन्वयका साथ स्वयंसेवी भावनाका साथ उत्रिन आह्वान गर्दछ ।

    ६.   वर्तमान गठबन्धन सरकारले राज्यका विभिन्न अङ्ग, प्रशासन र सामाजिक संस्थाहरुमाथि गरिरहेको हस्तक्षेपमाथि पार्र्टीको गम्भीर ध्यानाकर्षण भएको छ । निहीत स्वार्थका लागि स्वतन्त्र न्यायालयलाई विवादित तुल्याइरहेको सरकारले केही समयदेखि रेडक्रसजस्तो सामाजिक संस्थामाथि हस्तक्षेप गरेर त्यसका नियमित काममाथि अवरोध सिर्जना गरिरहेको छ । त्यसैगरी सरकारले भर्खरै गैरआवासीय नेपाली सङ्घ जस्तो गैरराजनीतिक, साझा र सामाजिक संस्थाका नियमित गतिविधिमाथि समेत हस्तक्षेप गर्दै राजनीतिकरण गर्ने दुष्प्रयाश गर्ने तथा संस्थाको अन्तर्राष्ट्रिय सम्मेलनमाथि रोक लगाउने जस्तो आपत्तिजनक काम गरेको छ । सामाजिक संस्थाहरुको स्वायत्तता र स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकारको यस्तो क्रियाकलापको माथि विरोध व्यक्त गर्दै बैठक यस्ता क्रियाकलाप अविलम्ब अन्त्य गर्न सरकारसँग माग गर्दछ ।

    ७.  बैठकले स्वास्थ्यमा समस्या उत्पन्न भएर उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका पार्टीका केन्द्रीय सचिव कमरेड योगेश भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    ८.  बैठकले पार्टीका नेता एवं श्रमिक आन्दोलनका अगुवा कमरेड ओम कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend