काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको पत्तासाफ गर्ने ‘आइडिया’ सार्वजनिक गरेकी छन् ।
आज सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित नेकपा एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले पार्टी निर्माणको ३ महिने अभियान चलाएर देशभरबाट कम्तिमा ७ लाख संगठित सदस्य बनाउने दाबी गरिन् ।
चुनावमा प्रत्येक संगठित सदस्यले परिवारको मात्रै पनि ४ भोट ल्याए देशभरबाट नेकपा एकीकृत समाजवादीको पक्षमा कम्तिमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने दाबी मन्त्री झाँक्रीले गरिन् ।
पार्टीमा प्रत्येक संगठित सदस्यले १ दिन पार्टीका लागि काम गर्ने र बाँकी ६ दिन आफ्ना लागि काम गर्ने गरी योजना बनाइएको बताउँदै झाँक्रीले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताएकी छन् ।
नेकपा एमालेमा आफ्नो पक्षमा रहेका केही साथीहरू बनिबनाउ घरको नाममा दास बन्ने कोसिस गरिरहेका आरोप उनले लगाइन् । ‘जनतालाई धोका दिएर केही नेताहरू एमालेको घरमा दास बन्दै गरेका छन्,’ उनले भनिन् ।
संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिए पनि केपी शर्मा ओलीले संविधानलाई नै मिचेको आरोप झाँक्रीले लगाइन् । ‘एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको हामीले विरोध गरेका हौं । यसो गर्दा ओलीको नजरमा नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिस्ट पार्टी स्थापना गरेका छौं,’ उनले भनिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।